प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछाप : सबै कार्यालयको तुलनामा ‘उत्कृष्ट’, ९२.०३५ % भौतिक प्रगति

| असार ३१, २०८१ आइतबार

A A A
A A A

३० असार, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले चालु आर्थिक वर्ष २०८०/०८१ मा कूल ९२ प्रतिशत प्रगति हासिल गरेको छ । रामेछाप र दोलखा जिल्लाका किसानहरूको घर बारीमा पुगेर कृषिकहरुलाई आर्थिक, प्राविधिक तथा समन्वय सहितको सेवा प्रवाह गरेर यो कार्यालयले जिल्लाका अन्य कार्यालयको तुलनामा उत्कृष्ट प्रगति हासिल गरेको सरोकारवालाले बताए । 

 

शनिवार मन्थलीमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागर थापा, मन्थली नगरपालिकाकी कार्यबहाक नगर प्रमुख ईश्वरी बस्नेत, कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुन, उद्योग वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार कर्मयोगी, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापामगर, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेसहित रामेछापका पत्रकारहरूको उपस्थितिमा परियोजना कार्यान्वयन इकाइले एक आर्थिक वर्षमा गरेका सम्पूर्ण कार्यको बारेमा फेरिसस्ता सुनाउँदै कार्यालय प्रमुख थिरलाल गैरेले आलु, किवी, बाख्रा र जुनार उत्पादनको तथ्याङ्किय वृद्धिले कार्यालयले गरेको प्रगतिलाई पुष्टि गरेको जिकिर गरे । 

 

कूल ८ करोड २२ लाख २७ हजार ९७ रुपैयाँको बजेटबाट दुई जिल्लाका ५१ वटा वडाहरूमा ‘जोन’ क्षेत्र तोकेर कार्य गर्दै आएको कार्यालयले बाख्राको पाठा-पाठी चाहिएमा अब बाहिरी जिल्लाबाट आयात गर्न नपर्ने गरी उत्पादन भएको कार्यालय प्रमुख गैरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । ‘अब पाठा-पाठी चाहिएमा बाहिरबाट ल्याउनु पर्दैन यही जति पनि उत्पादन छ।’

 

रामेछाप नगरपालिका (जुनार जोन क्षेत्र) मा पाँच वटा आधुनिक कोल्ड स्टोर निर्माण भइसकेको सुनाउँदै अब बाह्रै महिना यहाँका बजारमा जुनार पाइने वातावरण बनेको छ, कार्यालय प्रमुख गैरेले भने । साथै, जुनार प्रशोधन केन्द्रको लागि समेत कार्यालयले सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको छ । 

 

तरकारीको लागि अत्याधुनिक रष्टिक घर निर्माण, थोपा सिँचाइ, आधुनिक कृषि औजारको प्रयोगले उत्पादनमा वृद्धि भएको उल्लेख गर्दै कार्यालय प्रमुख गैरेले मासु, तरकारी र फलफूल निर्यातको वातावरण बन्दै गएको दाबी गरे । ‘सबै उत्पादन राम्रो छ, अब स्थानीय सरकार र हामी सबै ले बिक्री वितरणको लागि पहल गर्नु पर्छ ।’

 

‘अरूमा मलाई थाहा भएन । तर, मेरो नगरमा यो कार्यालयले गरेको काम निकै राम्रो छ । यसमा दुई मत छैन ।’  

 

 

जिल्लाको गोकुलगंगा, उमाकुण्ड र दोरम्बा शैलुङ्सहित दोलखाका विभिन्न पालिकाहरूमा आलु उत्पादन वृद्धि लोभलाग्दो भएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा पुर्‍याएको सहयोगले कृषिकहरु पनि खुसी र प्रोत्साहित देखिएको कार्यालय प्रमुख गैरेले सुनाए । ‘किसानहरू पनि खुसी देखिनु हुन्छ । तर, अब यसलाई ब्राण्डि, लेबलिङ र हाम्रो उत्पादन भनेर बिक्री गर्न सबैको सहयोग चाहिन्छ ।’

 

आफ्नो कार्यालयका सबै फिल्डमै पुगेर काम गर्दा पनि यो उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै कार्यालय प्रमुख गैरेले चालु आर्थिक वर्ष (असार २९ सम्म) पुँजीगत तर्फ ९५ प्रतिशत र चालु पुँजीगत तर्फ ९१.७३ प्रतिशत गरी कूल ९२.०३५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको जानकारी गराइएको छ । 

 

रामेछापमा मन्थली नगरपालिका सहित खाँडादेवी र सुनापति गाउँपालिकामा बाख्रा जोन क्षेत्रमा 'बाख्रा सुधार' गर्न विभिन्न कार्यक्रम सहित उन्नत जातका पाठापाठी समेत वितरण गरेर मासु र पाठा-पाठी व्यापक उत्पादन भएको कार्यालय प्रमुख गैरेले सुनाए । 

प्रक्रिया पुर्‍याएर आएका कृषि समूह, सहकारी र फर्महरूलाई आर्थिक, प्राविधिक र यान्त्रीकरणको क्षेत्रमा सहयोग गरी रहेको यो कार्यालयको अन्य कार्यालयहरूको भन्दा सन्तोष जनक काम भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले भने ‘अरूमा मलाई थाहा भएन । तर, मेरो नगरमा यो कार्यालयले गरेको काम निकै राम्रो छ । यसमा दुई मत छैन ।’  

 

कार्यालयको नाम आधुनिकीकरण राखेर कृषिमा आधुनिकता नआउने भन्दै मानिसको सोच, कर्ममा र व्यवहारमा आधुनिकता आउनु पर्ने नगर प्रमुख न्यौपानेको जोड् छ । कृषि पेसा दुःखको पेसा रहेको स्मरण गर्दै यो कर्मलाई परियोजना कार्यालयले व्यवहारिक रूपमा लागू भएको धारणा राखे । 

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख थापाले कृषिमा अनुदानको व्यवस्थालाई सुधार गर्दै उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गर्न सके अझै राम्रो हुने धारणा राखे । परियोजनाले कार्यालयमा बसेर फाइल हेरेको आधारमा सहयोग उपलब्ध गर्ने भन्दा फिल्डमा गएर काम गर्दा राम्रो परिणाम राम्रो आएको भन्दै कार्यक्रमको ‘डूब्लुकेसन’मा ध्यान दिनु पर्नेमा सचेत गराए । 

 

स्थानीय सरकारसँग परियोजना कार्यालयको समन्वय र सहकार्य नभएको असन्तुष्ट जनाउँदै मन्थली नगरपालिकाकी उपप्रमुख एवं कार्यवाहक नगर उपप्रमुख बस्नेतले भने कृषिसँग सम्बन्धित कार्यालयहरूको कार्यक्रम धेरै कार्यालयबाट प्रवाह हुने तर, उपलब्धि नभएको भन्दै असन्तुष्टि जनाइन् । सबै कार्यालयहरू बिच सहकार्य र समन्वय नहुँदा ‘डूब्लुकेसन’ भएको धेरै भयो । अब, मिलेर जानु पर्छ, भन्दै प्रश्न गरिन् । 

 

कृषिसँग सम्बन्धित कार्यालयहरूले धेरै कार्यक्रम सामाग्री बाँण्डने तर, त्यसको उपलब्धि तथ्याङ्कमा नदेखिएको भन्दै प्रश्न गरिन् । ‘तपाईँहरूले दिएको, बाँडेको मात्रै देखियो । तर, त्यसको फाइदा अर्थात् उपलब्धि के भयो भनेर यहाँ कहीँ पनि देखिएन । त्यो राम्रो भएन ?’

 

यद्यपि कार्यालय प्रमुख गैरेले भने समन्वय नभए पनि फिल्डमा काम भएको जिकिर गरेका थिए । आफूहरूले गरेको काम देखिने गरी भएको जिकिर गर्दै डूब्लिकेसनमा पनि ध्यान पुर्‍याएको विश्वास व्यक्त गरे । 

 

समग्रमा जिल्लाका अन्य कार्यालयहरूको भन्दा प्रधानमन्त्री कृषि आधुनिकीकरणको टिमले फिल्डमै खटिएर काम गर्दा प्रशंसनीय काम भएको कृषि विकास, वाणिज्य, जिल्ला सहकारी संघ र उद्योग वाणिज्य कार्यालयका वक्ताहरू धारणा राखे ।