रामेछाप ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा झण्डै ९ हजार सवारीबाट ८१ लाख बढी राजश्व उठायो

गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा डेढ लाख बढी राजश्व उठायो,  कारबाहीमा पर्नेमा आधा भन्दा बढी मोटरसाइकल

| साउन ४, २०८१ शुक्रबार

A A A
A A A

४ साउन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले एक आर्थिक वर्षमा ८१ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा डेढ लाख भन्दा केही बढी हो । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी सहायक निरीक्षक दीपक चौलागाईले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शीर्षकमा गरिएको कारबाही एवं जरिवाना बापत ८१ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । 

 

कारबाहीमा पर्ने आधा भन्दा धेरै दुई पाङग्रे सवारीसहित कूल ८ हजार ८ सय ९ सवारीलाई चेक जाँचको क्रममा कारबाही गर्दा उक्त राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रमुख चौलागाईले प्रस्ट पारे । 

एक आर्थिक वर्षमा मोटरसाइकल मात्रै चार हजार एक सय ५२ वटा कारबाहीमा परेका छन् । जसबाट ३७ लाख ६२ हजार ५ सय रुपैयाँ राजश्व सञ्चालन भएको हो । 

 

विशेष गरी मोटरसाइकलको कागजपत्र नबोक्ने, नभएका, चोरीका, क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने, मापसे, लापसे, तीव्र गति, सिड्बेल्ट, छतमा लगेज, सवारी चलाउँदा मोबाइल चलाउनेसहित अन्य विविध असुरक्षित पाइएकोमा कारबाही गर्दै आएको ट्राफिक प्रमुख चौलागाईले बताए । 

 

उनका अनुसार रामेछाप ट्राफिकले सबै भन्दा कम ५ सय देखि सबै भन्दा धेरै २ हजार सम्म जरिवाना असुल्ने एवं कारबाही गर्दै आएको छ । 

 

दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेतना एवं जनचेतना मूलक कार्यक्रम विभिन्न सरोकारवालासँग गरेको रामेछाप ट्राफिकले सोचे अनुसारको परिणाम अनुसार परिवर्तन भने नआएको यो तथ्याङ्कले देखाउँछ । 

 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कूल ८ हजार ८ सय ८ सवारी कारबाही गर्दा ८० लाख ५९ हजार राजश्व सङ्कलन गरेको थियो । उक्त वर्ष ०८०/०८१ भन्दा एउटा सवारी बढी कारबाही गर्दा ८० लाख मात्रै राजश्व सङ्कलन भएको थियो । भने, पछिल्लो वर्ष कम सवारी कारबाहीमा पर्दा पनि जरिवाना अर्थात् राजश्व भने बढेको हो । 

 

आठ वटै स्थानीय तहमा दुर्घटना न्यूनीकरणको सचेतिकरण कार्यक्रम गर्दै सवारी दुर्घटनाको बारेमा जनचेतना र सुरक्षित यात्राको लागि पहल गर्दै आएको रामेछाप ट्राफिकले पछिल्लो समय बढेको जोखिम पूर्ण यात्रा, बढी भाडा असुली जस्ता गतिविधिमा कारबाही गर्दै आएको छ । 

 

जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरूमा सिसिटिभी क्यामेरा बटा निगरानी, प्रेसद्वारहरुमा चेक जाँचमा कडाई, २४ सै घण्टा सूक्ष्म अनुसन्धान भइरहेको रामेछाप प्रहरीको भनाई छ । जिल्लामा आन्दाजी तीन सय सवारी दैनिक ओहोर दोहोर गर्ने गरेको पाइन्छ । 

 

तस्बिर स्रोत ट्राफिक रामेछाप