एक आर्थिक वर्षमा रामेछापमा ४५ वटा सवारी दुर्घटना : ९ जनाको मृत्यु, १९ जना गम्भीरसहित १०६ जना घाइते

| साउन ४, २०८१ शुक्रबार

गत २५ असार, २०८१ को साँझ मन्थली नगरपालिका कल्लेरीमा भएको बाेलेरो दुर्घटना । तस्बिर फाइल ।
A A A
A A A

४ साउन, रामेछाप । रामेछापमा गत आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । भने, १९ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षको भन्दा तुलनात्मक रूपमा दुर्घटनाको संख्या पनि उल्लेख्य बढेको छ ।  

 

दुर्घटना न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप र मातहतका निकाय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले विभिन्न सचेतना मूलक कार्यक्रमलाई तीव्रता दिए पनि दुर्घटनाको क्रम भने बढ्दै गएको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार २०८० साउन १ देखि ०८१ असार ३१ गते सम्म जिल्लामा भएको ४१ वटा दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका सहायक प्रहरी निरीक्षक दीपक चौलागाईका अनुसार सो अवधिमा ४५ वटा दुई र चार पाङ्गरे सवारी दुर्घटनामा ८७ जना सामान्यसहित कूल १०६ जना घाइते भएका छन् ।

 

अघिल्लो वर्ष २०७९/०८० मा ३० वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । त्यति बेला २० जना गम्भीर घाइते र सामान्य घाइते ७६ जना सहित कूल ९६ जना घाइते भएको ट्राफिक रामेछापले बताएको हो । 

 

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा दुर्घटनामा ज्यान गुमाउने संख्या केही कम भएको देखिन्छ । तर, घाइतेको संख्या भने बढेको छ । 

 

गत आर्थिक वर्षमा तुलनात्मक रूपमा नयाँ वर्ष अर्थात् २०८१ वैशाख पछि दुर्घटना बढेको पाइन्छ । गत आर्थिक वर्षमा मलामी बोकेको गाडी, यात्रु बाहक बस, टिफर, बोलेरो, इलेक्ट्रिक गाडी, खाँडादेवी मन्दिर दर्शनामा आएका दर्शनार्थी चडेको गाडी, विभिन्न नियम विपरीच चल्दै आएका अटो र मोटरसाइकलहरु दुर्घटनामा परेको थिए ।