गत आर्थिक वर्षमा रामेछाप प्रशासनले उठायो ३ करोड ७६ लाख बढी राजश्व, पासपोर्ट बनाउनेबाट मात्रै तीन करोड बढी

| साउन ११, २०८१ शुक्रबार

A A A
A A A

११ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै चार करोड राजश्व संकलन गरेको छ । रामेछाप प्रशासनले एक आर्थिक वर्षमा सबै भन्दा धेरै पास पोर्ट (राहदानी) बनाउनेहरूबाट राजश्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय रामेछापको लेखा शाखाले बताएको हो । 

 

वैदेशिक रोजगारीमा जाने लहरै लागिरहेको बेला पासपोर्ट  बनाउनेहरूबाट ठुलो परिमाणमा राजश्व उठेको हो । विदेशबाट पठाएको रेमिट्यान्सले देश चलिरहेको चर्चाका बिच विदेश जानकै लागि बनाइने पासपोर्टबाट समेत ठुलो मात्रमा राज्यले आम्दानी गरेको पाइएको हो । पासपोर्ट बनाउन पाँच हजार देखि १० हजार सम्म राजश्व जम्मा गर्नु पर्ने हुन्छ । 

 

नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका कामहरूको कारण सयौँको भीड हुने रामेछाप प्रशासनले शुक्रवार रामेछाप टाइम्सलाई उपलब्ध गराएको विवरणमा सबै भन्दा धेरै राहदानी शुल्कबाट ३ करोड ७० लाख ९६ हजार ७५ रुपैयाँ राजश्व संकलन गरिएको लेखापाल नवीन के.सी.ले दिएको विवरणमा उल्लेख छ । 

 

त्यस्तै सरकारी सम्पत्तिको बिक्रीबाट रु १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट चार हजार ९८ रुपैयाँ, परीक्षा शुल्क बापत १८ हजार चार सय राजश्व उठाएको लेखापाल के.सीले बताए । 

 

त्यस्तै एक वर्षको अवधिमा रामेछाप प्रशासनले प्रशासनिक दण्ड, जरिवाना र जफत बापत रु १ लाख ९४ हजार ४०५ रुपैयाँ राजश्व असुलेको छ । 

 

बेरुजु बापत रु १० हजार राजश्व संकालन गर्दा कम्पनी जरिष्ट्रेशन दस्तुर बापत दुई लाख ४९ हजार ८ सय ४० रुपैयाँ, हातहतियारको इजाजत पत्र दस्तुर बापत ३७ हजार पाँच सय र धरौटी सदरस्याहा बापत ३८ हजार ७१२ रुपैयाँ गरी कूल तीन करोड ७६ लाख ६५ हजार ८२२ रुपैयाँ राजश्व उठाएको लेखापाल के.सीले जानकारी दिए ।