रामेछाप फर्पु पहिरो पीडितलाई सांसद ‘कान्छाराम’ले गरे आर्थिक सहयोग, जनाए यस्तो प्रतिबद्धता ?

| साउन १२, २०८१ शनिबार

A A A
A A A

१२ साउन, रामेछाप । रामेछापको फर्पुमा घरमाथिबाट खसेको ढिस्कोबाट तीन किशोरीको ज्यान जाने गरी घटेको घटनाका पीडितलाई राहत तथा जनप्रतिनिधिको बलियो साथ र सहयोग आउने क्रम बढेको छ । शनिवार बिहानै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले आर्थिक सहयोग बोकेर घटनास्थलमै पुगेर पीडितहरूलाई सान्त्वना सहित सहयोग प्रदान गरेका छन् । 

 

बिहीबार साँझ घरमाथिको ढिस्को भत्किएर घरको गाह्रो समेत भत्किएर पुर्दा ज्यान गुमाएकी १८ वर्षीय सिता तामाङ, १५ वर्षीय आशिका दोङ र १३ वर्षीय लक्ष्मी तामाङका बुबालाई प्रति परिवार १०–१० हजारको दरले सांसद तामाङले व्यक्तिगत आर्थिक सहयोग प्रदान गरेका हुन् । ‘हामी तपाईँहरूको साथमा छौँ’ शोकमा परेका तामाङ परिवारहरूलाई विश्वास दिलाउँदै सांसद तामाङले भने ‘तपाईँहरूको सुरक्षित बसोबासको लागि मैले जे गर्नु पर्छ त्यो गर्न तयार छु । र, हाउसमा पनि कुरा उठाउँछु ।’

 

गृह पालिका समेत रहेको गोकुलगंगा गाउँपालिकाको ६ नम्बर वडामा अचानक पहिरोमा परी ज्यान गुमाएको घटनाले आफू  दुखित रहेको बताउँदै सांसद तामाङले जिल्लावासीहरू सबै सचेत भएर बस्न समेत आग्रह गरे । 

 

त्यहाँको स्थलगत निरीक्षण पछि बोल्दै पहिरो गएको ठाउँका बसिन्दाहरुलाई सुरक्षित स्थानमा तत्काल लानु पर्नेमा वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारको ध्यानाकर्षण गर्दै भने ‘पहिले मान्छेको ज्यान जोगाउनु पर्छ ।’ उनले पीडितहरुको पक्षमा गर्ने सबै कामको लागि आफूले सहयोग गर्ने सांसद तामाङले प्रतिबद्धता जनाए । 

 

पीडित परिवारहरूको आवश्यकता र मागलाई समेत सुनेका सांसद तामाङले स्थानान्तरण हुने ठाउँमा तत्काल बिजुली बत्ती, खानेपानी सहितको सुविधा पुर्‍याउन नेपाल विद्युत् वितरण केन्द्र रामेछाप र सम्बन्धित निकायलाई आग्रह गरे । 

 

पीडितहरूलाई स्थानीय सरकार, जनप्रतिनिधिहरू सबैको साथ रहने विश्वास दिलाउँदै जोखिम क्षेत्रमा भने नबस्न काँग्रेस सभापति तामाङले आग्रह गरे । 

त्यस्तै काँग्रेस जिल्ला उपसभापति लेखबहादुर कार्कीले आफूहरू सबै पीडितको साथमा रहेको आस्वास्त पार्दै जनप्रतिनिधि, स्थानीय सरकार र राजनीतिक दलहरूले उक्त घटनालाई नजिकबाट नियालिरहेको धारणा राखे । 

 

उपसभापति कार्कीसहित महासमिति सदस्य ध्रुव हरि ढुङ्गेल, रामेछाप नगरपालिकाकी उपप्रमुख एवं नेतृ बाला कुमारी कार्की (थापा), सोही वडाका अध्यक्ष चन्द्रबहादुर सुनुवार, जिल्ला कार्यसमिति सदस्य कुमार श्रेष्ठ, पूर्व जिल्ला कार्यसमिति सदस्य लिला तामाङ, सांसद तामाङका स्वकीय सुरेश सुवेदी, तरुण दलका नेता उपेन्द्र कार्की पत्रकारहरू सहित घटनास्थल पुगेका सांसद (कान्छाराम) ले जलवायु परिवर्तनले अकल्पनीय घटनाहरू घटी रहेकाले सबै सचेत र सतर्क रहनु पर्नेमा जोड् दिए । 

रामेछापका विभिन्न क्षेत्रहरू बाढी पहिरोको जोखिममा रहेको चर्चा गर्दै ती क्षेत्रका मानिसहरू सावधानी हुन आवश्यक रहेको बताए । 

 

जिल्लामा घटेको उक्त घटनाको बारेमा संसद्मा आफूले प्रस्ट राख्ने उनको भनाई थियो । चार घण्टाको निरन्तरको वर्षा पछि घरमाथिबाट खसेको ढिस्कोले चार घर जोखिममा पारेको छ । भने, भत्किएको विमान तामाङका दुई छोरा, श्रीमती सहित भूकम्पपछि निर्माण गरिएको घरमा सरेका छन् । 

 

यस अगाडि जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला रेड्क्रश सोसाइटी रामेछाप र राष्ट्रिय युवासंघ नेपालले आर्थिक, लत्ता कपडा र खाद्यान्न सहयोग गरेका थिए । 

 

त्यस्तै गाउँपालिकाले पीढीहरूलाई हस्तान्तरण गर्ने र आर्थिक सहयोग उपलब्ध गर्ने विषयमा आजै बैठक बसेर निर्णय गर्ने तयारी गरेको वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले बताए ।