निरन्तरको वर्षाले रामेछापका आधा दर्जन यी सडक पूर्ण रूपमा अवरुद्ध

| साउन १६, २०८१ बुधबार

तस्बिर स्रोत : आनन्द सुनुवार
A A A
A A A

१६ साउन, रामेछाप । निरन्तरको भीषण बर्खे झरीले जिल्लाका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । गए राति जिल्लाका सबै भू–भागमा भीषण वर्षा भएको छ । 

 

वर्षाको कारण आज बिहानै लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोबीमा पहिरोले एक घर बगाएको छ । केही समय रेडियो रामेछापमा कार्यरत झर्ना खड्काको घर बगाएको इलाका प्रहरी कार्यालय धोबीले रामेछाप टाइम्सलाई बताएको छ । उक्त घटनामा मानवीय क्षति नभए पनि धनमालको ठुलो क्षति भएको प्रारम्भिक अनुमान छ । 

 

त्यस्तै, जिल्लाका विभिन्न स्थानका मुख्य तथा सहायक आधा दर्जन बढी सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

 

कतिपय सडकहरू मान्छे ओहोरदोहोर समेत गर्न नसक्ने गरी अवरुद्ध भएका छन् । ती सडकहरू खुलाउन केही दिन लाग्ने देखिएको स्थानीयहरूले बताएका हुन् । 

 

विशेष गरी जिल्लाको उमाकुण्ड, लिखु तामाकोशी, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका विभिन्न सडकहरू अवरुद्ध भएका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बर्सादको कारण लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुबाट धोबीडांडातर्फ आउने मुख्य सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध बनेको छ । 

 

इलाका प्रहरी कार्यालय धोबीबाट प्रहरी सहायक निरीक्षक विजय कुमार यादवको कमाण्डमा त्यहाँ टोली पुगेर निरीक्षण गरेको जिप्रका रामेछापले जानकारी दिएको हो । 

 

त्यस्तै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाबाट वडा नं ८ चिसापानी हुँदै वडा नं ११ गेलु तर्फ जाने सडकमा महादेव खोलामा ढुङ्गा माटोको गेगर सहितको लेदो आउँदा पूर्ण रूपमा अवरुद्ध भएको छ । 

 

उक्त घटना स्थलमा प्रहरी सहायक निरीक्षक दीपक चौलागाईको कमाण्डमा टोली पुगेर स्थलगत निरीक्षण गरिएको जिप्रका रामेछापले भनेको छ । 

 

उता खाँडादेवी गाउँपालिका वडा नं ८ मा पर्ने भोटनागी सडक खण्डमा भारती मावि नजिकै देउराली भन्ने ठाउँमा भीषण पहिरो खस्दा पूर्ण अवरुद्ध भएको प्रधानाध्यापक देभराज घिसिङले रामेछाप टाइम्सलाई बताए । 

 

सो ठाउँमा खसेको पहिरो पन्छाउन पालिकाबाट जेसिबि पठाइएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले यो समाचार तयार पार्दा सम्म जानकारी गराए । 

 

लिखु तामाकोशी गाउँपालिकाको वडा नं ७ तिल्पुङ् हुँदै धोबी जोड्ने मुख्य सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ । 

 

वडा नं १ गुम्देल जोड्ने उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक ठाउँ ठाउँमा खसेको पहिरो र लेदोको कारण केही हप्तादेखि  अवरुद्ध छ । वडा नं ४ प्रितीको महभिर खोला नजिकै बलखी भन्ने स्थानमा पनि पहिरो खस्दा उक्त सडक अबरुद्ध बनेको छ । केही सडकहरु  निरन्तर वर्षाको कारण केही खुलाउन समेत अवरोध भएको छ ।