रामेछापको भालुखोपमा पहिरोका कारण बुढाथोकी टोल पूरै जोखिममा, भैँसी र राँगा पहिरोमा पुरिए

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१७ साउन, रामेछाप । रामेछापको भालुखोपमा निरन्तरको भारी वर्षाले पहिरो जाँदा एक घर पूर्ण क्षति पुगेको छ । भने, आधा दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् ।

 

लिखु तामाकोशी गाउँपालिका वडा नं ५ स्थित भालुखोपका स्थानीय पूर्णबहादुर बुढाथोकी ‘पिके’ का अनुसार मेखबहादुर बुढाथोकीको आगन नजिकबाट पहिरो जाँदा मेखबहादुरको घर पूर्ण रूपमा क्षति पुगेको हो । 

 

‘हाम्रो टोलमा भएका सबै घरहरू पहिरोको उच्च जोखिममा परेर सबैलाई स्कुलमा सारिएको छ’, पिकेले गुनासो गर्दै रामेछाप टाइम्ससंगै भने ।

 

त्यस्तै सोही ठाउँका गंगामाया बुढाथोकी, बाबुराम बुढाथोकी, धुम्मामाया बुढाथोकी, मानबहादुर बुढाथोकीको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

मानबहादुरको घर नजिकै रहेको गोठ पहिरोले पुर्दा एउटा भैँसी र दुई वटा राँगा पुरिएर मरेको ‘पिके’ले बताए । मानबहादुरका भतिज पिकेका अनुसार पहिरोको जोखिममा परेका सबै घरका सदस्यहरूलाई स्थानीय मालिका प्राविमा सारिएको छ । उनीहरू सामूहिक रूपमा बसोबास गर्न थालेका छन् । 

 

निरन्तरको भीषण वर्षाले आफूहरूको बस्ती नै जोखिममा परेको भन्दै जोखिममा रहेका परिवारका सदस्यहरूको सुरक्षित स्थानमा बसोबास गर्ने वातावरण मिलाउनु पर्ने पीडितहरूको माग रहेको ‘पिके’ले गुनासो गरे ।