अस्वाभाविक घर बहाल कर प्रकरण : के संघका अध्यक्ष थापा मगर आलोचना हुने डरले भागेकै हुन् त ? (भिडिओसहित)

| साउन १८, २०८१ शुक्रबार

A A A
A A A

१८ साउन, रामेछाप । मन्थली नगरपालिकाले अस्वाभाविक रूपमा घरबाहल कर बढाउने गरी तयार पारेको प्रतिवेदनका कारण रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष चर्को विवादमा मिच्छिएका छन् । प्रतिवेदन सार्वजनिक हुनु भन्दा पहिलै उनी यहाँबाट बाहिर गएपछि भागेको आरोप सहित विवादमा तानिएका हुन् । यो प्रतिवेदन अहिले चौतर्फी आलोचनाको सिकार बनेको छ । 

 

नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्य समितिको सदस्य रहेका थापासहित टिमले एक साता भित्रै हतार-हतारमा नगरका एक तिहाइ भूगोलको स्थलगत निरीक्षणपछि घर बहाल, टहरो, कारखाना, गोदाम, छाप्रा र जग्गाको बहाल कर निर्धारण गर्न सक्ने गरी प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन सामाजिक सञ्जालमा बाहिरिएपछि चौतर्फी आलोचना मात्रै नभएर मन्थली बजारका घरधनी र व्यवसायीहरूले बिहीबार नगरमा डेलिगेसनै गए । 

 

सो क्रममा डेलेगेशन टोलीले आफूहरूसँग कुनै छलफल बिनै तयार पारिएको प्रतिवेदन कुनै हालतमा मान्य नहुने भन्दै तत्काल संशोधन गर्न नगरपालिकासँग माग गरे । जवाफमा मन्थली नगरपालिकाबाट समितिका सदस्य संघका अध्यक्ष समेत रहेको स्मरण गराउँदै संघले सबै सरोकारवालासँग छलफल गरेको सुनाएको थियो । तर, डेलिगेसन टोलीमा सामेल संघका कोषाध्यक्ष झनकबहादुर बुढाथोकी (उत्तम) सदस्य श्यामकुमार श्रेष्ठ सहित बजारका घरधनीहरूले आफूहरूलाई उक्त विषयमा हाल सम्म छलफल त के थाहा सम्म नभएको जिकिर गरे । 

 

डेलिगेसन टोलीले संघका अध्यक्ष थापा मगरले बजारका व्यवसायी र घरधनीसँग छलफलै नगरी कसरी प्रतिवेदनमा हस्ताक्षर गरे भन्दै असन्तुष्टि जनाए । सोही व्यवसायीहरूको असन्तुष्टि समावेश गरी रामेछाप टाइम्सले मन्थली नगरपालिकाले अस्वाभाविक रूपमा ‘घर बहाल कर’ बढाउन लागेपछि घरधनी र भाडावाल आक्रोशित शीर्षकमा समाचार प्रकाशित गरेपछि संघका अध्यक्ष एवं प्रतिवेदन समितिका सदस्य थापा मगरले भने रामेछाप टाइम्समाथि आक्रोश पोखेका छन् ।

 

यो भिडिओ हेर्नुहोस् घर धनी र व्यवसायीहरुले के-के भने 
 

सामाजिक सञ्जालमा आफूले साउनको १० गतेदेखि नै संघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष जयप्रकाश श्रेष्ठलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर पारिवारिक कामको लागि आफू काठमाडौँमा रहेको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘जुन समाचारमा जसरी लाञ्छना लगाएकोमा मेरो आपत्ति रहेको छ। मेरो व्यक्तिगत घरायसी कामको सिलसिलामा ११ गतेदेखि काठमाडौँमा रहेको र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी दिएको छु ।’

 

रामेछाप टाइम्सलाई समाचारमा एक पक्षीय ढंगबाट लेखेको आरोप लगाउँदै व्यवसायीहरूले लगाएको आरोपमा समेत सञ्चार माध्यमलाई दोषारोपण गरेर अध्यक्ष थापामगर उक्त जिम्मेवारीलाई ढाकछोप गर्न तुलिएका छन् ।  समाचार प्रति ‘खेद’ जनाएका अध्यक्ष थापामगरले रामेछाप टाइम्ससंग उक्त प्रतिवेदन समेत घरधनी र व्यवसायीको हितमा रहेको जिकिर गरेका छन् । 

 

रामेछाप टाइम्संगको टेलिफोन संवादमा बोल्दै भने ‘म भागेको हैन । कार्यवाहक जिम्मेवारी दिएर पारिवारिक कामले काठमाडौँ आएको हुँ । म, सवैसँग फोनमा कुरा गरिरहेको छु’, प्रतिवेदन प्रस्ताव मात्रै भएको तर्क गर्दै थपे ‘आफू चाही ४०/५० हजार भाडा लिने अनि राज्यलाई तिर्न पर्दैन । त्यो प्रतिवेदनको बारेमा संघका सवैसँग छलफल गरेको छु । बैठकमै नआउने चोक–चोकमा कुरा गरेर हिँड्ने साथीहरूलाई त, कसरी छलफलमा ल्याउन सकिन्छ’ आफ्नो बचाउ गर्दै अध्यक्ष थापा मगरले भने । 

 

यो हेर्नुहोस् संघका अध्यक्ष थापा मगरले कार्यबहाक तोकेको पत्र 

प्रतिवेदन समितिमा संघ अनिवार्य सदस्य रहने व्यवस्था रहेको सुनाउँदै उनले तयार पारिएको प्रतिवेदन घरधनी र व्यवसायीहरू सबैको हितमै रहेकाले आफूले हस्ताक्षर गरेको दाबी गरे । 

 

आफू आगामी भदौको पहिलो हप्ता सम्म पारिवारिक कामले काठमाडौँ रहने बताउँदै उनले आफू नभागेको जिकिर गरे । मन्थली बजारकै स्थानीयहरूले कुनै छलफल र सल्लाह नगरेको भन्दै थापा मगरकै चर्को असन्तुष्टि पोखिरहेको बेला उनले भने सवैसँग कुरा भइरहेको बताए । 

 

मन्थलीका घरधनी एवं व्यवसायीहरुले भने अध्यक्ष थापा मगर फोन अप गरेर केही दिन अगाडि नै यहाँबाट भागेको भन्दै उनलाई यहाँ झिकाएर वास्तविक कुरामा छलफल हुनु पर्ने माग गरे ।