नेकपा ‘एस’को केन्द्रीय कमिटीमा रामेछापबाट देवशंकर पौडेल सहित यी छ जना परे (नामावलीसहित)

| साउन २३, २०८१ बुधबार

A A A
A A A

२३ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादी (एस) रामेछापबाट केन्द्रीय कमिटीमा छ जना मनाेनीत भएका छन् । चार जना दोहोरिँदा दुई जनाले पहिलो पटक अवसर पाए । 

 

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट रामेछापका चार जना पूर्व केन्द्रीय सदस्यहरूलाई निरन्तरता दिँदै दुई जना नयाँ थप गरेर पार्टी अध्यक्ष माधव कुमार नेपालले रामेछापका छ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको जिल्ला कमिटी सचिवालय सदस्य विकास पुलामीले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार यहाँबाट केन्द्रीय कमिटीमा पूर्व सांसद एवं अग्रज नेता देवशंकर पौडेल, नेता होमबहादुर बुढाथोकी, कानुन व्यवसायी समेत रहेका झम्क कँडेल र शान्ता पौडेल (सापकोटा) केन्द्रीय सदस्यमा दोहोरिएर अवसर पाएका छन् । 

 

त्यस्तै नेता धनबहादुर कार्की र केदार कुमार कँडेलले पहिलो पटक केन्द्रीय समितिमा अवसर पाएको (एस) का नेता पुलामीले बताए । (एस) ले ३४४ जानको केन्द्रीय कमिटी बनाएको छ । गत शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ । 

 

यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।  उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए । गृहकार्यपछि शुक्रवारको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिएको घोषणा गरिएको हो ।

 

महाधिवेशनपछि अब बस्ने बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तोक्ने बताउँदै जिल्ला कमिटी सचिवालय सदस्य पुलामीले जिल्ला अधिवेशन गरेर नयाँ ढङ्गबाट पार्टी अगाडि बढ्ने दाबी गरे । 

 

जिल्लामा पार्टीको संगठन ‘शून्य’ जस्तै देखिएको बेला उनले भने संगठन बलियो रहेको र आगामी दिनमा थप सशक्त ढङ्गाले (एस) अगाडि बढ्ने जिकिर गरे ।