रामेछाप नगरको ओख्रेनीमा दुई वटा तरकारी तथा फलफूल चिस्यान केन्द्र निर्माण

| साउन २५, २०८१ शुक्रबार

A A A
A A A

२५ साउन, रामेछाप । रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीको टुनिबोटमा दुई वटा फलफूल तथा तरकारी चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । चिस्यान केन्द्र बनेसँगै स्थानीय तरकारी तथा फलफूलले बजार पाउने किसानले आशा राखेका छन् ।  

 

शुक्रवार वडा अध्यक्ष राजेश तामाङले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार रामेछाप नगरपालिका र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रहेको लागत साझेदारीमा रसिलो जुनार सहकारी संस्था मार्फत चिस्यान केन्द्र निर्माण सकिएको हो । 

 

नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कूल २५ लाख लागतमा दुई वटा १०–१२ मेट्रिक्टन क्षमताको चिस्यान केन्द्र तयार पारिएको वडा अध्यक्ष तामाङले बताए । 

 

‘अब भदौ भित्र विद्युत् जडानसहित सबै काम सकेर सञ्चालनमा आउँछ’ युवा वडा अध्यक्ष तामाङले रामेछाप टाइम्ससंग भने । 

 

गेडागुडी, तरकारी र जुनारको उत्पादन निकै राम्रो हुने ओख्रेनीमा घेरा बारसहितको चिस्यान केन्द्र बनेसँगै स्थानीयहरूको उत्पादन अब सुरक्षित तरिकाले नकुहिने गरी राखेर बेमौसमी बेलामा राम्रो मूल्य लिएर बिक्री गर्न सकिने स्थानीयहरूले विश्वास लिएका छन् । 

 

साथै, सुरक्षित भण्डारण गर्न नपाएर कुहिएर खेर जाने सबै खाले तरकारीहरू समेत किसानले बिक्री गरेर आम्दानी बढाउन सकिने विश्वास लिइएको छ । यो नगरभित्र यस अगाडि पनि परियोजना कार्यान्वयन इकाई रामेछापकै पहलमा चिस्यान केन्द्र निर्माण गरिएको छ ।

 

तस्बिर स्रोत अध्यक्ष राजेश तामाङ ।