‘रामेछापमा अबदेखि ट्राफिक नियम उल्लङ्घन बापत तिर्नु पर्ने जरिवाना ‘अनलाइन’बाटै भुक्तानी’

| साउन २५, २०८१ शुक्रबार

A A A
A A A

२५ साउन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१/०८२ सुरु भएदेखि विभिन्न शीर्षकमा लिँदै आएको जरिवाना अनलाइन मार्फत अर्थात् ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभिआरएस) विधि मार्फत लिन थालेको छ । 

 

ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई जरिवानाको रूपमा तिराउँदै आएको ‘जरिवाना’ बापतको रकम अबदेखि (टिभिआरएस) मार्फत भुक्तानी गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सहायक निरीक्षक दीपक चौलागाईले बताएका हुन् । 

 

‘अबदेखि (टिभिआरएस) मार्फत सिँधै भुक्तानी गर्न सकिन्छ । हामीले लागू पनि गरिसक्यौ’ लिखित चिट काट्नु नपर्ने प्रस्ट्याउँदै ट्राफिक प्रमुख चौलागाईले रामेछाप टाइम्ससंगको विशेष कुराकानीमा भने ‘भुक्तानी गरेको रसिद प्रिन्ट गरेर दिनु पर्छ ।यसरी तिरेको जरिवाना सिधै माथिबाट हेर्न पनि मिल्छ ।’

 

डिजिटल माध्यम ई सेवा, मोबाइल बैङ्किङ, बैङ्क खाता जस्ता माध्यमबाट सजिलै तिर्न सकिने प्रस्ट पार्दै चिट काट्न नपर्ने बताए । जिल्लामा पछिल्लो समय नियमित चेकजाँचमा कडाइ गर्दै आएको बताउँदै ट्राफिक प्रमुख चौलागाईले ट्राफिक नियम पालना गरे जरिवाना तिर्न नपर्ने बताए । 

 

विशेष गरी मोटरसाइकलमा यात्रा गर्दा हेलमेट नलगाउने, बढी स्पिड, लेनक्रश, कागजपत्र नबोक्ने, (लापसे), (मापसे), सार्वजनिक यातायातले बढी भाडा लिएको, छतमा यात्रु बोक्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता नियम विपरीत गर्नेलाई ट्राफिकले कारबाही स्वरूप जरिवाना बापत चिट काट्दै आएको उनको भनाई छ । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा आफूहरू सचेत रहेको बताउँदै पटक–पटक नियम विपरीत पार्किङ गर्दा समस्या आउने गरेको बताए । जिल्लाका मुख्य नाकाहरूमा ट्राफिक व्यवस्थापन तत्कालीन अवस्थामा सामान्य रहेको बताए । 

 

यात्रु र सवारी धनीहरूले पनि यात्रा गर्दा ट्राफिक नियम पालना गरेर सुरक्षित यात्रा गर्न उनको सुझाव छ । भने, जिल्ला प्रहरी कार्यालय रामेछाप, स्थानीय तहहरूसँगको समन्वय र सहकार्यमा आगामी तीन महिने ट्राफिक सचेतना मूलक कार्यक्रम तयार रहेकाले अभियानकै रूपमा अगाडि बढाउने उनको भनाई छ ।