जनै पूर्णिमा र गाई जात्राको अवसरमा रामेछापमा विभिन्न ठाउँमा मेला, जात्रा र लाखे नाच

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । ‘गाई जात्रा २०८१’ को अवसरमा रामेछापको मन्थली सहित विभिन्न स्थानमा मेला अर्थात् ‘लाखे नाच’ प्रदर्शन गरिएको छ । मन्थलीमा नेवा खल: रामेछापको आयोजनामा मन्थली बजारमा परिवारका सदस्य गुमाएकाहरूले तस्बिरसहितको प्लेकार्ड, बाजा ‘गाजा गाजा’सहित बजार परिक्रमा गरेर गाई जात्रा मनाएका छन् । 

 

विशेष गरी नेवार समुदायले जातीय पहिरनमा सजिएर बजार बजार प्रतिक्रममा गरेका हुन् । नेवा खल रामेछापले संस्कृतिको संरक्षण गर्ने भन्दै साता व्यापी रूपमै मन्थलीसहित आसपासमा प्रत्येक साँझ लाखे नाच समेत देखाउँदै आएको छ । 

त्यस्तै रामेछाप नगरपालिकामा पनि त्यहाँका नेवार समुदायले सोमबारदेखि आउँदो १० गते श्रीकृष्ण जन्मअष्ठामी सम्म देखाउने गरी लाखे जात्रा सुरु गरेको छ । नगरको वडा नं ८ भँगेरी भन्ने ठाउँका नेवार समुदायले २००९ सालदेखि त्यहाँ निरन्तर रूपमा ‘लाखे नाच’ प्रदर्शन गर्दै आएका छन् ।  

 

सांस्कृतिक कार्यक्रमसहित त्यहाँ लाखे नाच देखाइने भँगेरी श्रेष्ठ समाजका उपाध्यक्ष कुवेर श्रेष्ठले बताए । 

 

त्यस्तै सोमबार जनै पूर्णिमाको अवसरमा रामेछाप र दोलखाको सीमा स्थित पर्यटकीय क्षेत्र शैलुङ्मा भव्य मेला सम्पन्न भएको छ । त्यहाँ रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौँसहितका भक्तजन र धामीझांक्रीहरु पुगेका छन् । यो पटक हजारौँको संख्यामा त्यहाँ भक्तजन पुगेको स्थानीय दावा सांङ्बु शेर्पाले जानकारी गराए । 

पाँचपोखरी तर्फका दर्शनार्थी एवं भक्तजन, तस्बिर स्रोत लाक्पा शेर्पा

 

त्यस्तै रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमामा अवस्थित प्रमुख धार्मिक तीर्थ स्थल पाँच पोखरीमा पनि एक हजारको हाराहारीमा भक्त जन पुगेर भव्य मेला लागेको गुम्देलका स्थानीय लाक्पा शेर्पाले रामेछाप टाइम्सलाई बताए । 

 

उमाकुण्ड गाउँपालिका– १, गुम्देल स्थित नुम्बुर हिमालको फेदीमा रहेको काउबौद्धमा समेत सयौँको संख्यामा भक्तजन पुगेका छन् । जनै पूर्णिमाको अवसरमा जमिन मुनि रहेको ९ तले बौद्धको दर्शन गर्न सोमबार त्यहाँ भक्तजनको घुइँचो लागेको थियो । 

 

त्यस्तै गुम्देलकै साबिक वडा नं ३ तेछिम स्थित लाप्चा पोखरीमा पनि भव्य मेला सम्पन्न भएको छ । स्थानीय धामी झाँक्रीसहित हाट बजारसहितको मेला त्यहाँ सम्पन्न भएको छ । 

 

उमाकुण्ड गाउँपालिकाकै वडा नं २ बाम्ती भण्डारमा भव्य रूपमा लुभँ जात्रा सम्पन्न भएको छ । त्यहाँ सोलु खुम्बु, ओखलढुङ्गा सहितका जिल्लाबाट दर्शनार्थी, भक्तजनहरू आएका छन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार