रामेछाप मन्थलीका सुनचाँदी पसलमा संघको पहलमा राखियो ‘डिजिटल मूल्य सूची बोर्ड’

| भदौ ४, २०८१ मंगलबार

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरको हातबाट डिजिटल मूल्य सूची बोर्ड लिँदै नेपाल सुनचाँदी कला व्यवसायी संघका का.वा. अध्यक्ष तुलबहादुर विश्वकर्मा ।
A A A
A A A

४ भदौ, रामेछाप । जिल्लामा बनाइने सुनचाँदीका गरगहनामा तौल नपुग्ने, राम्रो सुन नहुने जस्ता विविध आलोचनाको सिकार हुँदै आएका रामेछाप मन्थलीका सुनचाँदी व्यवसायीहरूले ‘गुणस्तरीय र विश्वासिलो छौँ’ भन्ने सन्देशसहित व्यवसायलाई प्रविधि मैत्री बनाउन लागेका छन् । राम्रा र आधुनिक डिजाइनका गरगहना बनाउने, खरिद गर्ने र उच्च गुणस्तरीय सुनचाँदीको कारोबार गर्न व्यवसायीहरू एक जुट् भएका हुन् । 

 

मंगलबार नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछापले मन्थलीका १३ वटा सुनचाँदी व्यवसायीहरूलाई आधुनिक एवं डिजिटल मूल्य देखिने बोर्ड हस्तान्तरण गर्दै व्यवसायलाई एक रुपतता दिएको हो । तत्कालको लागि यो बोर्ड केन्द्रीय कार्यालयबाट मोनिटरिङ हुने भएकाले काठमाडौँमा लागू हुने मूल्य यहाँ तुरुन्तै अपडेट हुने हुँदा मूल्यमा हुने घटिबढी सदाको लागि अन्त्य भएको व्यवसायीहरूको भनाई छ । 

 

जिल्ला शाखा रामेछापको अग्रसरतामा केन्द्रीय समितिसँगको सहकार्यमा ‘डिजिटल मूल्य सूची बोर्ड’ वितरण गर्दै व्यवसायलाई प्रविधि मैत्री बनाएको संघका कार्यवाहक अध्यक्ष तुलबहादुर विश्वकर्माले बताए । 

 

‘हामी सबै व्यवसायीहरू एक भएर ग्राहकलाई गुणस्तरीय  सामाग्री उपलब्ध गराउँछौँ’ यहाँका व्यवसायीहरू पनि राम्रो सामान बनाउँछन् र मूल्यमा पनि एक रुपतता छ भन्ने सन्देश दिने प्रयत्न गरेको बताए । नवदुर्गा सुनचाँदी उद्योगका संचालक समेत रहेका कार्यवाहक अध्यक्ष विश्वकर्माले भने ‘यो डिजिटल बोर्डमा राष्ट्र बैंकले महासंघलाई मूल्य सूची दिने बित्तिकै हाम्रो पसलका बोर्डमा अपडेट (प्राप्त) हुन्छ’ यसरी सुनको मूल्य तलमाथि हुने आशंका पूर्ण हट्ने’ विश्वाससहित उनले भने । 

पहिलो चरणमा मन्थलीका १३ जना व्यवसायीहरूलाई यो डिजिटल बोर्ड प्रदान गरिएको बताउँदै आगामी दिनमा जिल्लाका सबै सुनचाँदी व्यवसायीहरूलाई वितरण गरिने योजना रहेको कार्यबहाक अध्यक्ष विश्वकर्माले बताए ।

 

उनले व्यवसायीहरूमा रहेका सानातिना समस्याहरूलाई सम्बोधन गर्दै ग्राहक मैत्री सेवा दिन व्यवसायीहरूलाई समेत आग्रह गरे । ‘हामी भित्र सानातिना केही समस्या छन् भने तीनलाई पनि सुधारेर उत्कृष्ट सेवा प्रदान गर्न सक्नु पर्छ । म, सबैसाथिहरुलाई त्यसो गर्न आग्रह गर्दछु ।’

 

विगतमा केही ‘अफवाह’हरू फैलाएर यहाँका सुनचाँदी व्यवसायीहरूलाई ठुलो असर पुगेको स्मरण गर्दै जिल्लावासीलाई पनि विश्वास गरिदिन उनले आग्रह गरे । ‘जिल्लावासीहरूलाई पनि हामी गुणस्तरीय सेवा दिन्छौँ । विश्वास गरिदिनुस्’ भने । 

 

त्यस्तै बोर्ड वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष नवीन थापा मगरले सुनचाँदी व्यवसायीहरूको समस्या समाधानमा संघ प्रतिबद्ध र कटिबद्ध भएर लागेको बचन दोहोर्‍याए । विगतमा भएका समस्याहरूलाई समाधान गर्न संघले आफ्नो ठाउँबाट पटक–पटक पहल गरिरहेको सुनाउँदै तौलमा गलत भएको भनेर माथिल्लो निकायले देखाएको त्रुटि समाधानमा आफूहरूले एक भएर लाग्ने बचन दिए । 

 

सुनचाँदी व्यवसायीहरूलाई बोर्ड प्रदान गर्दै संघका अध्यक्ष थापा मगरले प्रविधिसँग जोड्दै डिजिटल कारोबार अँगालेर सुनचाँदी व्यवसायीहरूले ग्राहकको मन जित्ने काम गरेको धारणा राखे । ‘प्रविधिको प्रयोग गर्दै कारोबारलाई थप विश्वासिलो र भरपर्दो बनाउनु भएको छ । यसले ग्राहकको मन अवश्य जित्छ ।’

 

चार दर्जन सुनचाँदी व्यवसायी रहेको रामेछापमा आफूहरूले प्रविधि मैत्री बनाउन लागि परेको बताउँदै  नेपाल सुनचाँदी कला व्यवसायी संघको निवर्तमान केन्द्रीय सचिवालय सदस्य समेत रहेका आकाश रिजालले विगतमा देखिएको नापतौल सम्बन्धि विवाद चाँडो भन्दा चाँडो समाधान गर्न लाग्नु पर्ने बताए । 

 

रामेछाप उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका रिजालले भने ‘केही व्यवसायीको नापतौलमा आइपरेको समस्या पार लाग्ने तरिकाले उद्योग वाणिज्य संघको नेतृत्वमा चाँडै सल्टाउने गरी गर्न लाग्नु पर्छ भन्ने म, अध्यक्षज्यूको ध्यानाकर्षण गराउँदछु ।’

 

संघका सचिव सिताराम लोहारले रामेछापका सुनचाँदी व्यवसायीहरू काठमाडौँ सहित अन्य जिल्लाका व्यवसायी सरह नै दक्ष र गुणस्तरीय सेवा दिन सक्षम रहेको जिकिर गरे । गलत कुराको भाष्य बनाएर यहाँका व्यवसायीलाई घाटा तुल्याउने र नकारात्मक प्रचार गरिएको उनको दाबी छ । 

 

सुनचाँदीको मूल्य, तापक्रम सहित मिति गतेसहित अपडेट दिने उक्त डिजिटल बोर्डले आफूहरूको व्यवसायलाई थप गुणस्तरीय र विश्वासिलो बनाउने निकै लाभदायक भएको सचिव लोहारको दाबी छ ।