खाँडादेवीको बाल्पामा पहिरो खसेर सित्खा खोलाको मुहान थुनिँदा ४० मिटरको ड्याम बनेको आशंका, तटीय क्षेत्रमा उच्च जोखिम

| भदौ ७, २०८१ शुक्रबार

तस्बिर स्रोत केशव कुमार प्रधान भिडिओ ।
A A A
A A A

७ भदौ, रामेछाप । जिल्ला खाँडादेवी गाउँपालिका वडा नं २  मझुवा र निगाल्पानीको बिच कुरन्थली मुनी बाल्पा भन्दा माथि भेगमा निरन्तरको वर्षाले खसेको पहिरोको कारण सित्खा खोला थुनिएको छ । खोलो थुनिएर अन्दाजी ४० मिटर बराबरको ड्याम बनेको आशंका गरिएको छ । खोलाको बग्ने पानी थुनिए पनि पूर्ण रूपमा भने नथुनिइएको दाबी गरिएको छ। यद्दयपी हाल सम्म उक्त स्थानमा कोही पुग्न नसक्दा यकिन जानकारी भने आउन बाँकी छ । 

 

सोही वडाका वडा अध्यक्ष केशव कुमार प्रधानका अनुसार हिजो दिउँसो ३ बजेदेखि नै अविरल वर्षाको कारण सित्खा खोलाको मुहान मझुवाको बाल्पा भन्दा माथि पहिरो जाँदा खोला थुनिएर ठूलो ड्याम बनेको आशंका गरिएको हो । भने, सार्वजनिक भएका तस्बिरहरूले समेत उक्त कुरालाई बल पुर्‍याएको छ । 

 

उक्त ड्याम हाल सम्म पनि नखुल्दा एकै पटक फुट्न सक्ने त्रासले तटीय क्षेत्रमा उच्च जोखिम देखिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्ससंग भने । 

 

‘हिजो दिउँसो देखिनै खोला थुनिएर ड्याम बनेको जानकारी छ । त्यहाँ कोही पुग्न सकेका छैन । हामीसँग त्यो प्रविधि पनि भएन । ड्रोनको माध्यमबाट यकिन घटनास्थलको पछिल्लो अवस्था हेर्ने काम गर्न निर्देशन गरेको छ’ पालिका अध्यक्ष श्रेष्ठले भने ‘४० मिटर जति पानी ड्याम बनेर थुनिएको छ । सार्वजनिक भएका भिडियोहरूमा त्यो देखिन्छ ।’

 

वडा अध्यक्ष र पालिका अध्यक्षले भने अनुसार उक्त खोला ड्याम बनेर एकै पटक फुट्यो भने तटीय क्षेत्रमा ठूलो जोखिम छ । वडा नं २ का धेरै जसो खेतबारी र केही बसोबास स्थानहरूमा समेत क्षेती पुग्ने डर छ । 

 

त्यस्तै वडा नं ३ को पनि खेतबारीहरू जोखिममा छन् । यद्दयपी खोलामा पानी बगी रहेको उनको भनाई छ । थुनिएको भनिएको खोला एकै पटक फुट्यो भने १५० रोपनी भन्दा धेरै खेतबारी, सित्खा बजार सहितका क्षेत्रहरू जोखिममा पर्ने हुँदा उच्च सावधानी अपनाउन आग्रह गरिएको पालिका अध्यक्ष श्रेष्ठले रामेछाप टाइम्संग भने । 

 

आफूले प्रहरी, प्रशासन समेतलाई खबर गरेको उनको भनाई छ ।