रामेछाप : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा मन्थली नगरपालिका जिल्लाकै पहिलो, सुनापति दोस्रो

| भदौ ७, २०८१ शुक्रबार

A A A
A A A

७ भदौ, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ मा ग (लिजा) मा पहिलो भएको छ । आठ स्थानीय तह रहेको रामेछापका सात अन्य स्थानीय तहलाई पछि पार्दै मन्थली पहिलो भएको हो । मन्त्रालयले विभिन्न १० वटा शीर्षकलाई आधार मानेर मूल्याङ्कन गर्ने गर्दछ । 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष (आ.व.) २०७९/ ०८० मा अन्य सात स्थानीय तहको भन्दा धेरै अंक प्राप्त गर्दै  (लिजा) मा जिल्लाकै पहिलो भएको देखाएको हो । 

 

गाउँपालिका/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा अनुसार मन्थली नगरपालिकाले ७४.५० अंक ल्याएर पहिलो बनेको हो । 

 

यो नगरपालिकाले प्रशासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९‍.२५, सेवा प्रवाहमा १२.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ५.७५, सामाजिक समावेशीकरणमा ८.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.७५ र सहकार्य र समन्वयमा ३.५ अङ्क प्राप्त गरेको लिजाको विवरणमा उल्लेख छ । 

 

मन्त्रालयको गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक हुँदा जिल्ला कै सुनापति गाउँपालिकाले ७४.२५ अंक प्राप्त गरी दोस्रो भएको विवरणमा उल्लेख छ । यो पालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ६, सङ्गठन तथा प्रशासनमा ५.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९.५, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५, सामाजिक समावेशीकरणमा ६.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.२५ र सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरेको उल्लेख गरिएको छ । 

७१.५० अंकसहित रामेछाप नगरपालिकाले तेस्रो हुँदा प्रशासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ४.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५, सामाजिक समावेशीकरणमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ र सहकार्य र समन्वयमा ४ अङ्क प्राप्त गरेको छ ।

 

जिल्लाकै दुर्गम पालिकाको रूपमा परिचित उमाकुण्ड गाउँपालिका ७० अंक सहित चौथो बनेको उल्लेख छ । यो पालिकाले प्रशासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८.२५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६.२५, सेवा प्रवाहमा ११.७५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ७.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.२५ र सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको छ ।

 

त्यस्तै कूल ६४ अंक प्राप्त गरेको गोकुलगंगा गाउँपालिकाले पाँचौँमा पुग्दा प्रशासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ४.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६.५, सेवा प्रवाहमा ११.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७, सामाजिक समावेशीकरणमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको विवरणमा उल्लेख छ । 

 

जिल्ला सदरमुकामबाट दुर्गम पालिकाकै रूपमा परिचित दोरम्बा शैलुङ गाउँपालिकाले ६१.२५ अंक ल्याएर अन्तिमबाट तेस्रो भएको छ ।  प्रशासकीय प्रबन्धमा ७.५, संगठन तथा प्रशासनमा ३.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ४.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.५, सामाजिक समावेशीकरणमा ७, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.७५ र सहकार्य र समन्वयमा १.५ अंक प्राप्त गरेको छ ।

लिजामा जिल्लाको दोस्रो बन्न सफल सुनापति गाउँपालिकाको प्रशासकीय भवन, तस्बिर फाइल । 

 

प्रविधिलाई जोड दिएर प्रविधि मैत्री गाउँपालिका बनाउने भन्दै वर्तमान नेतृत्वले चर्चा परिचर्चा गरिरहेको खाँडादेवी गाउँपालिकाले ५७.५० पाएर अन्तिमबाट दोस्रो भएको छ । यो पालिकाले प्रशासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ४.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.७५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ४.७५, सेवा प्रवाहमा ८.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ५, सामाजिक समावेशीकरणमा ५.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ र सहकार्य र समन्वयमा ३ अंक प्राप्त गरेको छ ।

 

पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले समयमै बजेट सम्म ल्याउन नसकेर आन्तरिक विवादै विवाद्मा कार्यकाल सक्दा विकासबाट अन्य पालिकाको तुलनामा पछि परेको लिखु तामाकोशी गाउँपालिकाको विकास र निर्माणमा पछिल्लो पटकको नेतृत्वलाई समेत धक्का लागेको लिजाको सार्वजनिक तथ्याङ्कले पुष्टि गरेको छ । यो पालिकाले ४५.७५ अङ्क प्राप्त गरी अन्तिमबाट पहिलो भएको हो । 
 

अन्तिमबाट पहिलो भएको यो पालिकाले प्रशासकीय प्रबन्धमा ६, सङ्गठन तथा प्रशासनमा ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ६, सेवा प्रवाहमा ८.४, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा २, सामाजिक समावेशीकरणमा २.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा २.२५ र सहकार्य र समन्वयमा १ अंक मात्रै प्राप्त गरेको छ ।