दोरम्बा पहिरो अपडेट : राज्य मन्त्री ‘कान्छाराम’ले घटनास्थलको अवलोकनपछि १० जना मृतकको परिवारलाई आर्थिक सहयोग गरे, बेपत्ता ४ जनाको खोजी कार्य रोकियो

| भदौ ९, २०८१ आइतबार

A A A
A A A

०९ भदौ, रामेछाप । रामेछापका नेता एवं ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्क पहिरो पीडितलाई भेटेर तत्कालको लागि आर्थिक सहयोग समेत गरेका छन् । 

 

आजै व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत घटनास्थलको अनुगमनमा आएका राज्य मन्त्री तामाङले व्यक्तिगत रूपमा नगद १०–१० हजार १० जना मृतकको आफन्तलाई हस्तान्तरण गरेको उक्त टोलीमा सम्मिलित जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) ले रामेछाप टाइम्सलाई बताइन । 

 

‘मन्त्रीज्यूले घटनास्थलको अवलोकन गरेर मृतकका परिवारलाई व्यक्तिगत रूपमा तत्कालको लागि १०–१० हजार प्रदान गर्नु भयो’ त्यहाँका जोखिममा रहेका घरपरिवारको सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राज्यको तर्फबाट हुने सबै सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाएको सुनाउँदै नेतृ खड्काले भनिन् । 

 

उनका अनुसार राज्य मन्त्री तामाङले आजै बस्ने मन्त्री परिषद् बैठकमा घटनाको बारेमा ब्रिफिङ गर्ने गरी सबै तयारी गरिरहेको छन् । साथै, मृतकहरूको व्यवस्थापन र पीडितहरूको सुरक्षित बसोबास मिलाउनको लागि समेत राज्य मन्त्री तामाङले निकै चासो र गम्भीरताको समन्वय गरिरहेको नेतृ एवं समन्वय प्रमुख खड्काले बताइन् । 

 

उनका अनुसार घटना बारे दुःख व्यक्त गर्दै राज्यमन्त्री तामाङले गम्भीर घाइते अन्जना श्रेष्ठलाई काठमाडौँमा उपचारको लागि सबै व्यवस्था गर्न स्वकीय सचिव सुरेश सुवेदीलाई खटाइसकेका छन् । पहिरोमा परी गम्भीर घाइते भएकी श्रेष्ठलाई राज्य मन्त्री तामाङ घटनास्थल आउनु भन्दा अगाडि काठमाडौँ (केएमसी) अस्पताल लगिएको छ । त्यहाँ उनको सबै उपचारको व्यवस्थापनको लागि मन्त्री तामाङले स्वकीय सुवेदीलाई जिम्मेवारी दिएर खटाएका हुन् । 

गए राति वडा नं ३ लेखर्कको बस्ती माथिबाट खसेको पहिरोमा परी त्यहाँ हाल सम्म ६ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । भने, ४ जना अझै बेपत्ता रहेका छन् । एक जना गम्भीर घाइते भएकी हुन् । 

 

बेपत्ताहरू खोजी कार्य आज रोकिएको रामेछाप डिएसपी प्रदीप कुमार सिंहले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘३ बजेसम्म खोज्यौँ । अहिले पानी परेर खोजी गर्न नसकिने भयो । अब भोलि फेरी खोज्छौँ । हाल सम्म ६ जना मृत भेटियो । ४ जना बेपत्ता भएको आशंका छ ।’

 

पानी परेपछि खोजी गर्न नसकिएर मन्थलीबाट गएको प्रहरी टोली त्यहाँबाट फर्किएको डिएसपी सिंहले बताएका हुन् । पहिरोले तीन घर  पूर्ण रूपमा बगाएको र एक घर पुरिएको उनको भनाई छ ।