मन्थली तीनलाल पार्कमा ५ हजार र १ हजारको ‘टिकट काटेर’ तीजको दर खाने कार्यक्रम हुँदै

| भदौ ११, २०८१ मंगलबार

A A A
A A A

११ भदौ, रामेछाप । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरूको विशेष पर्व हरितालिका तीज नजिकिएसँगै दर खाने सहित तीज विशेष कार्यक्रमहरूको चहलपहल सुरु हुने थालेको छ । नेवार जातिको लाखे नाच र श्रीकृष्ण जन्म अष्टमी सकिए लगत्तै तीज विशेष कार्यक्रम अगाडि बढाउने गरी आयोजकहरूले तयारी थालेका छन् । 

 

सोही अनुसार मन्थली स्थित तीनलाल पार्क एवं मन्थली पार्कले विशेष प्याकेज सहित कार्यक्रमको तयारी तीव्र पारिएको आयोजक एवं पार्कका सञ्चालक रेन्जोङ् योन्जनले जानकारी दिए । उनका अनुसार आउँदो शुक्रवार अपराह्न ४ बजेदेखि पार्कमा विशेष प्याकेज सहितको दर खाने कार्यक्रम अगाडि आयोजना गरिएको हो ।  

 

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको भव्य साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रम आयोजना गरिएको बताउँदै योन्जनले भने ‘हामीले यहाँका स्थानीयहरूलाई इन्टरटेन् गराउने उद्देश्यले प्याकेजसहितको कार्यक्रम गर्न लागेका हौँ ।’

 

उक्त ‘विशेष’ भनिएको कार्यक्रममा सहभागी हुनको लागि ५ हजार एक हजारको टिकट काटेर प्रवेश दिइने छ । जसको लागि एक हजार र पाँच हजारको टिकट अनुसारको प्याकेज आयोजकले व्यवस्था गरेको आयोजक राजु थापा मगरले बताए । 

 

उनका अनुसार पाँच हजारको प्याकेजमा पारिवारिक खाना सेट उपलब्ध हुने छ । ‘पाँच जनाको गुरुपलाई पूरै चिकेनसहित निश्चित आवश्यकका परिकार सबै खान पाइनेछ ।’

दर र सांगीतिक कार्यक्रको १ हजार र ५ हजारको टिकट 

 

राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक बालचन्द्र बराल, गायिका निकिता गुरुङ, गायक तथा मोडल शरद एल.जी र मोडल तथा डान्सर बिपना सुनुवार सहित  स्थानीय कलाकाहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको उक्त साङ्गीतिक तथा दर खाने कार्यक्रममा सहभागीहरूको मनोरञ्जनलाई पूरै व्यवस्थापन गरिएको आयोजकले दाबी गरेको छ । 

 

जिल्लाका अन्य होटेलहरूले पनि मनोरञ्जनात्मक कार्यक्रमलाई अगाडि बढाउन सकुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै मन्थली पार्क सञ्चालक योञ्जनले भने ‘हामीले पहिलो पटक आयोजना गरेका हौँ । सोचे अनुसारको आम्दानी नभए पनि अब साप्ताहिक रूपमा अगाडि बढाउने उद्देश्यले सुरु गर्न लागेका हौँ ।’

जिल्लाको सदरमुकाम भए पनि राम्रो मनोरञ्जनात्मक स्थलहरू नरहेको उल्लेख गर्दै योञ्जनले भने ‘यहाँका ग्राहकहरूलाई खुसी र मनोरञ्जन दिने उद्देश्यले सुरु गर्न लागेका हौँ’ घाटा लागे पनि यो पटक गर्छौँ र यसलाई निरन्तर पनि दिन्छौँ ।’

 

सांगीति र दर खाने कार्यक्रम आयोजना गरिएसँगै आयोजकले प्रचारप्रसार र तयारी अगाडि बढाएको हो । 

 

यो पटक तीज यही भदौ २१ गते परेको छ । तीजको अघिल्लो रात महिलाहरूले विभिन्न दूधबाट बनेका परिकारहरू (दर) खाने प्रचलन छ । यद्दयपी पछिल्ला वर्षहरूमा हप्ता, पन्ध्र दिन अगाडि देखि नै दर खाने, धूम्रपान, मद्यपान, फजुल खर्च गर्ने, देखा-सेखी गर्ने, ठू–ठुला होटेल, ब्याङ्कुइट्, रिसोर्टहरुमा पार्टी दिने जस्ता कार्यहरू भएको भन्दै प्रश्न र आलोचना पनि हुँदै आइरहेको छ । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार