बुधवारदेखि रामेछापका सबै पेट्रोल पम्पहरूले अनिश्चितकालको लागि तेल बिक्री वितरण ठप्प पार्ने

| भदौ २३, २०८१ आइतबार

A A A
A A A

२३ भदौ, रामेछाप । अस्वाभाविक रूपमा बजारमा पेट्रोलियम पदार्थ अभाव गराएको भन्दै उद्योग वाणिज्य कार्यालय रामेछापले रामेछापका दुई पेट्रोल पम्पमाथि नगद जरिवानासहितको कारबाही गरेपछि रामेछापका आयल स्टोरहरू आन्दोलित भएका छन् । उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै पेट्रोलियम पदार्थ बिक्री वितरण नै ठप्प पार्ने कडा चेतावनी सम्म दिएका छन् ।

 

वाणिज्य कार्यालय गरेको कारबाही ‘नियतबस्’ गरिएको समेत उनीहरूले दाबी गरेका छन् । वाणिज्य कार्यालयको पेट्रोल पम्पहरू माथिको कारबाही व्यवसायीलाई दुःख दिने नियतले गरिएको आरोपसहित कानुनीबाटमा समेत आफूहरू अङ्गालेको उनीहरूले एकैस्वरमा बताएका छन् । आइतबार बिहान सिन्धुली हाइवे पेट्रोलियम डिलर्श एशोसिएसनमा आबद्ध रामेछापका चारै आयल स्टोरहरू मन्थलीमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको डिलर्स एशोसियशनको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘भाद्र २६ गते बुधवारदेखि हाम्रा माग पुरा नभए अनिश्चितकालिन जिल्लाका ४ वटा पम्पहरू बन्द गर्ने, भदौ २५ गते दिउँसो १ बजे देखि ५ बजे सम्म ४ वटा पम्महरुबाट तेल बिक्री वितरण नगर्ने’ भनिएको छ ।

 

एशोसियशनले जारी गरेको पत्रमा भनिएको छ ‘मन्थली १ स्थित लक्ष्मी आयल स्टोर्स मन्थली र जाल्पादेवी आयल स्टोर खिम्तीले समेत सो अवधिमा तेल बिकी गरिरहेकोले मन्थलीमा तेलको अभाव नरहेको अवस्था हुँदा हुँदै जरिवाना गर्नु कतिको सान्र्दभिक हुन्छ’ निलकण्ठेश्वर आयल स्टोर माथि गरिएको जरिवाना यथासिघ्र खारेज होस् भन्दै थप भनिएको छ ‘शुभ सम्वृद्धि आयल स्टोर्स भैसेश्वरले भदौ १० गते आफ्ना पिताजी गम्भीर बिरामी भै काठमाण्डौ लैजानुपर्ने अवस्था सिर्जना भई जिल्ला प्रशासन कार्यालय रामेछापमा लिखित निवेदन दिएको सो विषयको समेत प्रवाह नगरी प्रो. काठमाण्डौमा भएकै अवस्थामा तेल डिपोमा गई सिल बन्दी गरेकोले कम्तीमा विरामीको गम्भीर अवस्था अनुसार ८/१० दिन लाग्नेमा सोहि समय भित्र शिल बन्दी गरेकोमा यधाशिध्र शिल खोली नियमित तेल विक्री वितरण गर्ने व्यवस्था होस्’ भनिएको छ । 

 

आइतबारै एशोसियशनका अध्यक्ष रामहरि थापासहितको उपस्थितिमा जिल्लाका चारै पेट्रोल पम्पहरूले जिल्ला प्रशासन, उद्योग वाणिज्य कार्यालय र रामेछाप उद्योग वाणिज्य संघमा ध्यानाकर्षणसहितको अन्तरक्रिया गरी आफूहरूमा माग र गुनासाहरू सुनाउने मन्थली भैशेश्वर स्थित पेट्रोल पम्पका संचालक केशव घिमिरेले बताए । उनले आयल स्टोरहरूलाई एक्कासि ‘नियतबस्’ गरिएको कारबाही सम्बोधन गर्नु पर्ने माग गरे । उनले वाणिज्य कार्यालय रामेछापले प्रदेशको ऐनलाई टेकेर गरेको कारबाही नै सही नभएको तर्क गरे ।

 

आफूहरूले पारिवारिक समस्या र पेट्रोलियम पदार्थको आयातमा हुने प्राविधिक समस्या बाहेक तेल बिक्री वितरणमा अवरोध नगरेको शुभ समृद्धि आयल स्टोर्सका संचालक जीवन बुढाथोकीले बताए । अस्वाभाविक तेलको बिक्री वितरण रोक लगाएको आरोप स्वीकार्य नहुने दाबी गरे ।

 

गएको १६ गते उद्योग वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार शाह कर्मयोगीको नेतृत्वमा गएको टोलीले मन्थली बसपार्कको निल्कण्ठेश्वर पेट्रोल पम्पलाई नगद २ लाख ५० हजार जरिवाना र शुभ समृद्धि आयल स्टोर्समा ७ दिने अल्टिमेटमसहित सिल गरेको थियो ।

 

आफ्नो पम्पमा सिल गएकोमा आपत्ति जनाउँदै प्रशासनमा केही दिन अगाडि नै आफूले पारिवारिक समस्याको कारण तेल आयात गर्न नसकेर गेट बन्द गरिएको भन्दै संचालक बुढाथोकीले भने ‘प्रशासनलाई जानकारी गराएर गेट बन्द गरिएको पम्पमा गएर ताला लगाउनु कतिको सही हो ।’

 

जिल्लाका कुनै पम्पमा तेल बिक्री वितरण हुँदा हुँदै सिल गर्नु जायज नभएको व्यवसायीको गुनासो छ । यहाँका स्थानीयहरूले भने पेट्रोल पम्पहरूले मूल्य समायोजन भएर आउने बित्तिकै पेट्रोलियम पदार्थ बिक्री वितरण ठप्प पार्ने गरेको गुनासो गरेका छन् । 

 

हेर्नुहोस् के के भने भिडिओमा ....

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार