रामेछाप मन्थली–३ कठजोरको ठाँटीचौरमा सञ्चालनमा आयो वडा कार्यालय, मेयर श्रेष्ठले गरे उद्धघाटन

| भदौ २३, २०८१ आइतबार

A A A
A A A

२३ भदौ, रामेछाप । मन्थली नगरपालिका वडा नं ३ को वडा कार्यालय भवन आइतबार देखि सञ्चालनमा आएको छ । नगरपालिका प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकी, निवर्तमान नगर प्रमुख रमेश कुमार बस्नेत, नगरका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ, सोही वडाका वडा अध्यक्ष कृष्ण गोपाल थापा, १ नम्बरका अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), ५ नम्बरका अध्यक्ष रविन कार्की (नवीन), नेपाली काँग्रेस, नेकपा एमालेका नेताहरू सहितको उपस्थितिमा भवन उद्घाटन गरेसँगै वडा कार्यालय भवन सञ्चालनमा आएको हो ।

 

यस अगाडि मन्थली ३ को सेवा मन्थली १ स्थित मन्थली मावि नजिकै वडा अध्यक्ष थापाको घर परिसरमा उनकै ज्वाइँको घरमा भाडामा रहेको भवनबाट सेवा सञ्चालन भइरहेको थियो । वडा अध्यक्ष थापाका अनुसार वडाका नागरिकहरूको सहजताको लागि यहाँबाट सेवा सञ्चालन गरिए पनि अबका दिनमा वडा कार्यालयबाट मात्रै सेवा प्रदान गरिने छ । 

 

१४ वटै वडामा सुविधा सम्पन्न आधुनिक एवं पक्की भवन निर्माणमा जुटेको यो नगरपालिकाले आज वडा नं ३ कठजोरको ठाँटीचौरमा एक करोड १९ लाख लागतमा बनेको  भवन सञ्चालनमा ल्याएको हो । 

सबै वडामा एकै डिजाइन एकै कलर, एकै सुविधासहितको वडा कार्यालय भवन निर्माण गर्दै आएको यो नगरले पहिलो चरणमा वडा नं २, १०, १४ दोस्रो चरणमा १, ३, ७, ८, ११ र १३ को भवन निर्माण गरिसकेको छ । अब वडा १, ११ र १३ को भवन उद्घाटनको तयारी रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार वडा नं ४ सालु र ५ सुनारपानी धमाधम भवन निर्माण भइरहेका छन् । भने, ९ नम्बर पुराना गाउँमा जग्गा प्राप्तिको लागि अन्तिम चरणमा पुगेको महाशाखा प्रमुख एवं निमित्त प्रशासकीय प्रमुख बुढाथोकीले जानकारी दिए । 

 

भवन बनेपछि नागरिक मैत्री सेवा प्रदान गर्न सहज हुने बताउँदै प्रशासकीय प्रमुख बुढाथोकीले ६ नम्बर भलुवाजोर र १२ गेलुमा जग्गाको खोजी खोजी भइरहेको निमित्त प्रशासकीय प्रमुख बुढाथोकीको भनाई छ ।

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार