नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मा कार्कीलाई, प्रवक्तामा श्रेष्ठ

| भदौ २४, २०८१ सोमबार

A A A
A A A

२४ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टी कार्यवाहक सभापति र प्रवक्ताको जिम्मेवारी दिएका छन् । नेपाली काँग्रेस रामेछापमा आन्तरिक विवाद बढेको भन्दै विभिन्न चर्चा भइरहेका बिच सभापति समेत रहेका ऊर्जा राज्य मन्त्री तामाङले कार्यवाहक सभापति र प्रवक्ताको जिम्मेवारी दिएर सबैको ध्यान तानेका छन् । 

 

१११ औँ बिपी जन्म जयन्तीको अवसर पारेर सोमबार (आज) राज्य मन्त्री तामाङको निवास मन्थलीमा पार्टीका प्रमुख सल्लाहकार कृष्ण महत, जिल्ला समन्वय प्रमुख एवं जिल्ला कार्यसमिति सदस्य चिना खड्का (कार्की), जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्का, नेता ध्रुव लामा, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की (थापा)सहितको उपस्थितिमा उपसभापति लेखबहादुर कार्कीलाई कार्यवाहक सभापति र जिल्ला कार्यसमिति सदस्यमा मनोनीत भएका पूर्व पार्टी कोषाध्यक्ष समेत रहेका कुमार श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

 

राज्य मन्त्री बनेपछि आफू जिल्लामा आएर पार्टीको काम गर्न नसक्ने हुँदा पार्टीलाई बलियो र चलायमान बनाउनको लागि कार्यवाहक सभापतिको जिम्मेवारी दिएको सभापति तामाङले बताए । 

 

सभापति ‘कान्छाराम’ ले उपसभापति कार्कीलाई प्रदान गरिएको पत्रमा भनिएको छ ‘म नेपाल सरकारको ऊर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री नियुक्त भई जिल्ला बाहिर रहनु पर्ने भएकोले म जिल्ला बाहिर रहेको अवस्थामा तपाईँलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन एवं परिमार्जन समेत) तथा नियमावली २०७६ बमोजिम आर्थिक कारोबार बाहेक पार्टीको प्रशासनिक साङ्गठनिक तथा दैनिक परिआउने सम्पूर्ण काम गर्ने गरी कार्यवाहक सभापति भई कामकाज गर्न तोकिएको छ’ । 

कार्यवाहक सभापतिको बधाई दिँदै सभापति एवं राज्य मन्त्री तामाङले पार्टीलाई अब ६४ वटै वडामा चलायमान बनाउन आग्रह गरे । साथै, यहाँका सबै स्थानीय तहमा पार्टीको सङ्गठन बलियो बनाउन निर्देशन गर्दै अनुशासित, जिम्मेवार तथा कर्तव्यनिष्ठ भई सक्रियता रूपमा लाग्न आग्रह गरे । 

 

त्यस्तै पूर्व जिल्ला कार्यसमितिको कोषाध्यक्षको समेत कूशल्ता पूर्वक जिम्मेवारी निर्वाह गरेका नेता श्रेष्ठलाई सभापति तामाङले प्रदान गरिएको पत्रमा भनिएको छ ‘नेपाली काँग्रेसको विधान २०१७ (संशोधन एवं परिमार्जन समेत) तथा नियमावली २०४६ बमोजिम नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको पार्टी प्रवक्ता पदमा नियुक्त गरेको छ’ पार्टीको सांगठानिक गतिविधि, प्रशासनिक तथा विभिन्न क्रियाकलाप र पार्टीका निर्णयहरू पार्टीलाई हानि नोक्सानी नपुग्ने गरी सार्वजनिकरण गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै भनिएको छ ।’