खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् ‘सोचे अनुसारको काम गर्न सकिएन’, चालु आर्थिक वर्षमा यी काम हुँदै (भिडिओसहित)

| भदौ २७, २०८१ बिहिबार

A A A
A A A

२७ भदौ, रामेछाप । उच्चतम प्रविधिको प्रयोग गर्दै गाउँपालिकालाई समृद्ध पालिका बनाउँछु भन्दै आएका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । निर्वाचित भएको साँढे दुई वर्ष बित्न लाग्दा सम्म देखिने गरी विकास निर्माणका काम गर्न नसकेको भन्दै प्रश्नहरू उठिरहेका बेला पत्रकारहरू माझ पालिका अध्यक्ष श्रेष्ठले नै आफ्नो सोच र जोस अनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् । यद्यपि केही दीर्घकालीन प्रभाव पार्ने कामहरू सुरुवा भएको उनको जिकिर छ । 

 

उनकै कार्यकक्षमा पत्रकारहरुसंगको कुराकानीमा गत वर्ष शिक्षा सुधारमा काम गरेको र त्यो सार्वजनिक भएको नतिजाले देखाएको दाबी गरेका हुन् । आफूहरूले पालिकाको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिँचाइ र पूर्वाधार निर्माणमा चरणबद्ध रूपमा कार्यहरू गरिरहेको बताउँदै पालिका अध्यक्ष श्रेष्ठ यो वर्ष ‘कृषि वर्ष’को रूपमा काम अगाडि बढाएको धारणा राखे । पालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै प्रचारप्रसार गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले खानेपानी, सिँचाइ, कुलो पुर्‍याउने, स्वास्थ्य सेवा प्रवाह गर्ने काम गरिरहेको बताए । यो वर्ष देखि शैक्षिक सुधार अन्तर्गत कक्षा ९–१२ लाई आवासीय बनाउने तयारी भइरहेको छ । 

 

९ वटा वडा रहेको यो पालिका भित्र स्रोत र साधनले भ्याए सम्म जनताहरूको आवश्यकता अनुसार काम गरिरहेको वडा अध्यक्षहरू पनि बताउँछन् । विभिन्न प्राविधिक कारणहरूले ढुक्क हुने परिस्थिति नभए पनि जनताकै आवश्यकता अनुसार काम गरिरहेको उनीहरूको दाबी छ । 
 

यो वर्ष के–के काम हुँदै छ त यो पालिकामा ?

स्थानीय तह बनेको यतिका बेला सम्म सामान्य स्वास्थ्य सुविधा बाहेक अन्य उपचार गर्न जिल्ला सदरमुकाम मन्थली सहित जिल्ला बाहिरै धाउनु पर्ने अवस्थामा रहेको यो पालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा १५ शय्याको अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । साँढे ३ करोड लागतमा धमाधम निर्माण भइरहेको यो अस्पतालको हाल सम्म दुई करोड भुक्तानी भइसकेको गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरव राज केसीले बताए । ‘२ करोड भुक्तानी भइसक्यो । चाँडै सञ्चालनमा ल्याउने गरी काम हुँदै छ । हामी छिट्टै सञ्चालनमा ल्याउनको लागि जुटेका छौँ ľ

यो अस्पताल अत्रिव, शिवाको बस्नेत जेबी कन्स्ट्रक्सने निर्माण गरिरहेको छ । वडा नं ५ मा बनिरहेको यो अस्पताल सञ्चालनमा ल्याएर पालिकाभित्रका स्थानीयहरूलाई स्वास्थ्य सुविधा दिने गाउँपालिकाको योजना रहेको प्रशासकीय अधिकृत केसी बताउँछन् । 
 

विविध जटिलताहरूलाई पछि पार्दै वडा कार्यालय निर्माण अन्तिम चरणमा पुर्‍याएको बताउँदै वडा नं ५ का अध्यक्ष मनोज पौडेल दुई महिना भित्र वडा कार्यालय उद्घाटन गर्ने बताउँछन् । चालु आर्थिक वर्ष भित्र वडाले गर्ने काम बारे बोल्दै वडा अध्यक्ष पौडेलले गोगनपानी सभा हल, मदन भण्डारी पार्क वडा कार्यालयसँगै उद्घाटन गरिने जानकारी दिए । पिकनिक स्पर्ट सहितको सुविधा रहेको पार्क सञ्चालनमा ल्याएर वडामा आन्तरिक पर्यटकको आगमन बढाउने वडाले लक्ष्य लिएको उनको भनाई छ । त्यस्तै गत वर्ष ६० वटा सडक बत्ती जोडिएको सोही वडामा यो वर्ष पनि ६० वटा नै सडक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । 

 

वडा नं ४ को वडा भवन थप गरी सम्पन्न हुने बताउँदै सोही वडाका कृष्ण प्रसाद पौडेलले यो वर्ष २ नम्बरमा १४० मिटर सडक कालो पत्रे गरिने जानकारी दिए । सिँचाइलाई यो वर्ष पनि प्राथमिकताको साथ काम गरिने उनको भनाई छ । 
 

त्यस्तै वडा नं २ को नयाँ भवन निर्माण हुने भएको छ । वडा अध्यक्ष  केशव कुमार प्रधानका अनुसार वडाको कुरन्थली आसपासमा भवन निर्माण हुने छ । त्यसको लागि जग्गा प्राप्तिको सूचना समेत प्रकाशन भइसकेको छ । भने, चालु आर्थिक वर्षभित्रै यो वडाका सबै जनताको घरमा केबलतार (कालो तार) जडान गरिने वडा नं ४ का वडा अध्यक्ष प्रधानले जानकारी दिए । ७० लाख लागतमा निर्माण भइरहेको एक घर, एक धारा कार्यक्रम गरिने, सडक, बिजुली बत्तीको सबै कालो तार बनाउने र पुस मसान्त सम्म उपभोक्ता समिति गठन सकेर योजनाको काम सकिने वडा अध्यक्षको भनाई छ ।  

केशव कुमार प्रधान, वडा २ नं अध्यक्ष, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 
 

पालिकाको केन्द्र समेत रहेको वडा नं ६ माकादुममा पनि यो वर्ष डिपबोरिङ मार्फत निकालिएको पानी भूमिगत विस्तार कार्य तीव्र गतिमा गरिने वडा अध्यक्ष नारायण कार्कीले प्रस्ट पारे । यही वर्ष ६०० घर धुरीलाई पाँच सय लिटरको पानी ट्याङ्की २५ प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको बताउँदै वडा अध्यक्ष कार्कीले ६ सय घर धुरीलाई २५ प्रतिशतै अनुदानमा २५ किलोको दरले आलुको बिउँ वितरण गर्ने योजना रहेको बताए ।
 

पालिकाको उत्पादनको हिसाबले महत्त्वपूर्ण मानिएको माडी मुहान लगायतका खेतमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले ठुलो लगानीमा भटौली खोलाको पानीलाई व्यवस्थित गरिने, उत्पादनमा आधारित अनुदान दिने लगायतको तयारी गाउँपालिकाले गरी रहेको पालिका अध्यक्ष श्रेष्ठको जोड् छ । 

वडा नं ६ का अध्यक्ष नारायण कार्की र ५ नम्बरका अध्यक्ष मनोज पौडेल,मिलन घिमिरे/ रामेछाप टाइम्स 
 

पालिकाले निकै चर्चा गर्दै आएको ड्रोन खरिद यसै वर्ष गरिने बताउँदै राष्ट्रिय आविष्कार केन्द्रले बनाइरहेको जानकारी गराउँदै पालिका अध्यक्ष श्रेष्ठले भने ‘हामी बाहिरी देशबाट ल्याउँदैनौँ । आविष्कार केन्द्रले बनाउँदै गरेको छ भनेको छ । त्यहाँ तयार हुने बित्तिकै ल्याउँछौ । अडर भइसक्यो ।’

 

त्यस्तै दोस्रो कार्यकाल वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका वडा अध्यक्ष पुष्कर कार्कीले पनि आफ्नो वडा ३ मा यो वर्ष लिफ्ट खानेपानी, सडक स्तर उन्नति गर्ने देखि जन्म भूमि आधारभूत विद्यालयको भवन निर्माण गरिने वार्षिक कार्यक्रम तय गरिएको बताए । त्यस्तै वडाका किसानहरूको मागलाई ध्यान दिएर यो वर्ष सिँचाइ सुविधाको कार्यलाई अगाडि बढाइने उनको भनाई छ । 
 

नयाँ र ठुला पूर्वाधार निर्माण चालु आर्थिक वर्षमा पनि नहुने बताउँदै पालिका अध्यक्ष श्रेष्ठ भन्छन् ‘विगतमा सुरुवात गरिएका योजनाहरूलाई पूरा गर्ने योजनामा आफूहरू रहेको छ । यो वर्ष नयाँ त्यस्तै ठुला कार्यक्रम केही छैन । सबै वडाहरूले नियमित र जनताको मागमा आधारित कार्यक्रम गर्दै छन् ।’