तामाकोशीमा र्याफ्टिङ, फिसिङ जस्ता गतिविधि गरेर रामेछापको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ – मन्त्री ठकुरी (भिडिओसहित)

पत्रकारहरूलाई कसैको दबाब र प्रभावमा नपरी नागरिकलाई सत्य सूचना दिन आग्रह

| भदौ २९, २०८१ शनिबार

A A A
A A A

२९ भदौ, रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले मन्थली स्थित तामाकोशी नदीमा र्याफ्टिङ, फिसिङ लगायतका गतिविधि गरेर यहाँको पर्यटन प्रवर्धन गर्न सकिने बताएका छन् । रामेछाप विमानस्थल सञ्चालन गर्न तीनै तहका सरोकारवालासँग बुझेर निर्णय गर्ने बताउँदै हप्तामा एक पटक यहाँका जनताले काठमाडौँ जहाज मार्फत पुग्ने वातावरण तय गर्ने बचन दिए । पत्रकारहरूलाई कसैको दबाब र प्रभावमा नपरी नागरिकलाई सत्य सूचना दिन आग्रह गरे । पर्यटन प्रवर्द्धनको लागि रामेछाप निकै सम्भावना बोकेको जिल्ला भएको उनको भनाई छ ।

 

रामेछापको मन्थलीबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका गन्तव्य टुडेको ८ औँ स्थापन दिवसको कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री ठकुरीले यस्तो धारणा व्यक्त गरे । ‘स्वतन्त्र र निश्चपक्षताको आधारमा तपाईँहरूले समाचार सम्प्रेषण गर्नुहोला । कसैको बलमा लागेर निष्पक्षतालाई नलुकाउनु होला’ उनले भने ।

 

आफू पहिलो चोटि रामेछाप आएको सुनाउँदै मन्त्री ठकुरीले यो जिल्ला पर्यटन प्रवर्द्धनमा उच्च सम्भावना बोकेको जिल्ला रहेछ । यहाँका धार्मिक मन्दिर, भालु खोप डाँडा, तामाकोशी नदी जस्ता ठाउँको सदुपयोग गर्नु पर्छ ।’  रामेछापको भालुखोपसहित धार्मिक तथा सांस्कृतिक स्थलहरू धेरै रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा रामेछापलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अहिले यहाँका स्थानीय तहका जनप्रतिनिधिले बजेट माग गरे पनि तत्कालै उक्त माग सम्बोधन गर्न नसकिने बताए । पूरक बजेटमा उक्त माग सम्बोधन गर्ने धारणा राखे । मन्त्री ठकुरीले आफू पदमा रहुन्जेल रामेछापलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोराए । 

 

अहिले नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकारलाई जनताले आशा र भरोसा गरेको दाबी गर्दै गठबन्धन लामै समय जाने धारणा राखे । आगामी दुई वटा बजेट अहिलेकै गठबन्धनको सरकारले ल्याउनेमा आसावादी हुँदै रामेछापलाई विशेष रूपमा हेर्ने बताए ।