रामेछाप ट्राफिकले सुरु गर्‍यो ‘चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता’ (भिडिओ)

| असोज ३, २०८१ बिहिबार

A A A
A A A

३ असोज, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ‘चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ । १० औ संविधान दिवस २०८१ को विशेष अवसरमा मन्थली देवकोटा चोकमा एक औपचारिक कार्यक्रमका बिच सरोकारवालाहरूले प्रतिबद्धता जनाउँदै कार्यक्रम सुरु गरिएको हो । 

 

बिहीबार बिहान मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहसहित सबै सुरक्षा निकायका प्रमुखहरू, मन्थली नगरपालिका वडाअध्यक्षहरु, यातायात व्यवसायी, पत्रकार, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय, सवारी चालकहरू सहितको उपस्थितिमा प्रतिबद्धता जनाउँदै कार्यक्रम लागू गरिएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले उद्घोष गरे ।

 

गत आर्थिक वर्ष २०८०/०८१ मा ४१ वटा सवारी दुर्घटना भएको जानकारी गराउँदै ट्राफिक प्रमुख चौलागाईले ९ जनाको मृत्यु तथा १०६ जना घाइते चालकहरूको गल्तीकै कारण भएको बताए । उनले ७६ प्रतिशत चालकहरू कै गल्तीको कारण दुर्घटना भएको विवरण सार्वजनिक गरे । यसरी चालकहरूको गल्तीका कारण भएको दुर्घटनालाई न्यूनीकरण चाडपर्व लक्षित सुरक्षा कार्यक्रम लागू गरिएको उनको भनाई छ। 

 

साना तथा ठुला सवारी चालकहरूले ध्यान दिनु पर्ने विभिन्न विषयमा जानकारी गराउँदै उनले यस्ता दुर्घटना हुन नदिने सबैले सचेतना आप्नाउन आग्रह गरे । 

 

सोही कार्यक्रममा प्रत्यक्षे रूपमा स्थानीयहरूले गाउँ-गाउँमा चल्ने बोलेरो गाडीहरूले यात्रु बोकेर जोखिम निम्त्याएको भन्दै गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उक्त गुनासोलाई तत्काल समाधान गर्न जिल्ला ट्राफिक प्रहरीले काम थाल्न प्रतिबद्धता सहित निर्देशन गरिन् । 

 

लागू गरिएको कार्यक्रम अन्तर्गत रामेछापबाट चल्ने विभिन्न सवारीहरूमा ‘दुर्घटना न्यूनीकरण’ लेखिएको स्टिकर टाँसिएको थियो । दशैं, तिहार, छठ जस्ता मुख्य चाड पर्व नजिकिँदै जाँदा दुर्घटना बढ्न सक्ने सम्भावित पक्षलाई ध्यानमा राखेर (जिट्राले) कार्यक्रम लागू गरिएको बुझिएको छ ।

 

गत वर्ष पनि यस्ता कार्यक्रम लागी हुँदै आएको थियो । भने, चाडपर्वमा यात्रुको सहायताको लागि यात्रु सहायता कक्ष पनि स्थापन गरी मुख्य नाकासहित देवकोटा चोकसहितका मुख्य चोकहरूमा कक्षहरू सञ्चालन गरिएको थियो ।