रामेछाप दोरम्बा शैलुङ् डडुवाका ४३ परिवार पहिरो पीडितलाई गैरसरकारी संस्था महासंघको जस्तापाता सहयोग (भिडिओसहित)

| असोज ७, २०८१ सोमबार

A A A
A A A

७ असोज, रामेछाप । गएको भदौ ८ गते रातिको अविरल वर्षासहितको पहिरोले गाउँ पूरै जोखिममा पारेपछि डाडुवाको विपन्न थामी जातिहरूको बिचल्ली भएको छ । उनीहरूको बसोबास रहेको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं १ स्थित मझुवा, सल्लेटार,  नागी, पाखाटोल, पात्ले, मंसिरे, जुगेपानी र दलेचौरसहितमा बसोबास गर्ने त्यहाँका थामी जातिहरूको गाउँमा दर्जन भन्दा बढी ठाउँमा पहिरो बगेपछि उनीहरूको बिचल्ली भएको हो । 

 

पहिरो गएपछि उनीहरू घर छोडेर सामूहिक रूपमा टेन्ट, पाल र जस्ताको छाप्रोमा बस्दै आएका छन् । सोही वडाका वडा अध्यक्ष प्रेम कुमार लामाका अनुसार ४३ घरका पीडितहरू सामूहिक रूपमा बस्दै आएका छन् । बस्ती माथि रहेको सामुदायिक जग्गामा बसोबास गरी रहेका उनीहरूको दीर्घकालीन पुनः स्थापना गर्न अति नै जरुरी रहेको वडा अध्यक्ष लामा बत्ताउँछन् । 

 

हाल सम्म आफूले पीडितहरूको समस्या समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समिति देखि पालिका सरकारलाई हारगुहार गरे पनि सम्बन्धित निकायबाट आशा लाग्दो कुनै पनि आश्वासन नपाएको वडा अध्यक्ष लामाले बताए । तत्कालीन अवस्थामा पहिरोले मानवीय क्षति नगरे पनि वडाका स्थानीयहरूलाई पूर्ण रूपमा विस्थापित गरेको वडा अध्यक्ष लामाको जिकिर छ ।  पहिरोले मानवीय क्षति नगरे पनि पशु बस्तु बाउनुका साथै घरबारी बालीनाली सबैमा क्षति पुर्‍याउँदै बनिबितो गरेर जीविको उपार्जन गर्दै जीवन गुजारा गर्नेहरू थप समस्यामा परेका हुन् ।  

यसैबिच शनिवार गैरसरकारी संस्था महासंघ (गैसस) जिल्ला शाखा रामेछापको पहलमा पीडितहरूलाई प्रतिपरिवार २–२ बण्डलको दरले ५४ बण्डल जस्ता प्रदान गरेको छ । (गैसस) सरकारी संस्था महासंघ नेपाल केन्द्रबाट ५० हजार, ‍(गैसस) महासंघ नेपाल भक्तपुर शाखा १० हजार,  (गैसस) महासंघ नेपाल ललितपुर शाखा १० हजारसहित विभिन्न सङ्घसंस्थाको सहयोगमा गरी कूल ४ लाख ६९ हजार एक सय रुपैयाँको जस्तापाता हस्तान्तरण गरिएको गैसस रामेछापका अध्यक्ष रत्न कँडेलले बताए  ।  

 

स्थानीयको समस्या र वडा कार्यालयको अनुरोधलाई ध्यानमा राखी (गैसस) महासंघ जिल्ला शाखाले विभिन्न सामाजिक संस्थाहरूसँग समन्वय र सहकार्य गरी पीडित २७ घर परिवारलाई ५४ बण्डल जस्तापाता उपलब्ध गराएको हो । 

 

शनिवार गैसस महासंघ नेपालकी कोषाध्यक्ष नानीमाया थापासहितको उपस्थितिमा प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । पीडितहरू माझ बोल्दै कोषाध्यक्ष थापाले आफूहरूको सानो सहयोगले पीडितहरूको साथमा रहेको छौँ भन्ने अनुभूति दिलाउने प्रयास गरेको धारणा राखिन् । 

पहिरो गएको महिना दिने बित्ता पनि कतैबाट आफूहरूले आफूहरूको उद्दार र पुनः स्थापनाको आश्वासन समेत पाउन नसकेको पीडित जुनुमायाँ थामी बत्ताउँछिन्  । 

 

आफूहरू अहिलेको जस्तो विपत्ति जीवनमा कहिले नभोगेको सुनाउँदै ८० वर्षीय कृष्णबहादुर थामी बिलौना जङ्गलमा विभिन्न ठाउँ बस्यौ। केही दिन छोरीको घरमा सरण लियौँ । गाउँपालिका र रेडक्रसले दिएको त्रिपाल र टेन्टमा अहिले बास छ । पहिरो र चट्याङको डरले जङ्गलमा पनि बस्न नसकेर अहिले जोखिम क्षेत्रमै बसिरहेका छौँ  । हाम्रो उद्दार गरियोस् ।