मन्थली–खुर्कोट सडकको वैकल्पिक रूपमा सुरु भयो गुन्द्रे खोला–सित्खा टार र चरिखोला–गोगनपानी–सित्खा–मन्थली सडक

| असोज १४, २०८१ सोमबार

A A A
A A A

१४ असोज, रामेछाप । जिल्ला भित्रने सबै भन्दा छोटो र प्रमुख सडक खुर्कोट–मन्थली सडक सेलेघाट स्थिति पक्की पुल सुनकोशी नदीले बगाएपछि अन्य जिल्ला सँग सिधा सम्पर्क टुटेको रामेछापमा वैकल्पिक सडक सुचारु भएको छ ।

 

सिन्धुलीको सित्खा हुँदै खाँडादेवी गाउँपालिका जोड्ने यो सडक गए राति ९ बजेदेखि खुलाइएको गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । अहिले यो सडक भएर गाडी गुड्न थालेका छन् ।

 

उनका अनुसार वैकल्पिक सडकको रूपमा गुन्द्रे खोला सित्खा टार हुँदै सित्खा पुल जाने सडक र चरिखोला–गोगनपानी–सित्खा सडक खुलेको हो ।  योसँगै अब संघीय राजधानी जोड्ने सडक बिपी राजमार्ग हुँदै सिन्धुली बर्दिबास भएर यात्रा गर्न सकिने भएको छ । यो सडक निकै लामो दूरीको छ । यद्यपि वैकल्पिक सडकको रूपमा यात्रा गर्न भने सकिने छ । अत्यावश्यक काम पर्दा यात्रा गर्न भने सकिने छ । 

वैकल्पिक सडकको रुपमा मन्थली–खिम्ती–बेताली–रस्नालु–सिउरेनी–जिरी हुँदै अरनिको राजमार्ग भएर यात्रा गर्न सकिने छ । यो सडक केही ठाउँमा अवरोध भएपनि चाँडै खुल्ने तयारी भइरहेको जानकारी रामेछाप टाइम्सलाई प्राप्त भएको छ । साथै, अति आवश्यक भएको खण्डमा मन्थलीबाट उद्दार उडान समेत सुचारु रहेकाले विमान मार्फत पनि काठमाडौं यात्रा गर्न सकिने छ ।

 

आइतबार बिहानै देखि खाँडादेवी गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहित नेकपा एमाले रामेछापका कार्यकर्ता, पूर्वाधार विकास कार्यालयसहितको टोली खटिएर सडक खुलाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।