रामेछापमा अवरुद्ध सडकहरू खुलाउन मन्त्रीदेखि नेता, जनप्रतिनिधिको दौड धूप: कुन–कुन सडक खुले, काठमाडौं यात्राको लागि कुन सजिलो ?

| असोज १६, २०८१ बुधबार

A A A
A A A

१६ असोज, रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा मंगलबार बिहान बसेको सरोकारवालाहरूको बैठकले अवरुद्ध सडकहरू तत्काल सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ । प्राकृतिक विपत्तिले जिल्लामा निकै ठुलो समस्या परेको अवस्थामा समन्वय प्रमुख चिना खड्का (कार्की) सहितको विशेष पहलमा आपतकालिन बैठक बसी खिम्ती–किर्नेटार हुँदै काठमाडौँ जाने वैकल्पिक सडकलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो ।

 

बैठकले कोलोञ्जोर घाट–रामपुर–रामेछापको वैकल्पिक बाटो सञ्चालन गर्न पहल गर्ने पनि निर्णय गरेको छ । साथै, केन्द्रीय स्तरमा समेत जिल्लाका सडकहरू खुलाउन यहाँका मन्त्री, सांसद र नेताहरू सक्रिय देखिएका छन् । 

बाढीले तहसनस् बनाएको किर्नेको सडक स्थलगत निरिक्षणमा मन्त्री तामाङसहित प्राधिकरणका कुलमान घिसिङ लगाएतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, तस्बिर सामाजिक संजाल 

 

रामेछाप टाइम्सलाई प्राप्त निर्णयमा मन्थली–चिसापानी–करम्बोट गेलु–सावा डाँडा–देविटार–चरिकोट हुँदै काठमाडौँ जोड्ने सडकलाई सम्बन्धित निकायहरूमा छलफल गरी सुचारु गर्न पहल गर्ने निर्णय गरिएको उल्लेख छ ।  त्यस्तै, बैठकले मङ्गलवारदेखि नै सुरु भएको मन्थली–काठमाडौँ हवाई उडानलाई नियमित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

शनिवार गएको भीषण बाढी पहिरोले जिल्लाका सबै स्थानीय तह प्रभावित भएको विषयलाई यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, रामेछाप प्रशासन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवीसहित सरोकारवालाहरुसंग छलफल गर्दै आठ वटै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रभित्रका बाटो छिटो भन्दा छिटो खुलाउन पहल गर्ने तयारीले तीव्रता पाएको हो ।  

 

समन्वयमा भएको सरोकारवालाहरूको बैठक लगत्तै सोही टोलीहरू राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी भएको वृहत् छलफल तथा स्थलगत अनुगमनको लागि मंगलबारै दोलखाको किर्ने पुगेका थिए । 

 

सो बैठकले त्यहाँको वास्तविकता हेरेर बुधवार देखि किर्नेको पहिरोले बगाएको सडकलाई सुचारु गर्ने गरी निर्णय तथा छलफल भएको बुझिएको छ । बैठकमा सहभागीहरूका अनुसार किर्ने–खिम्ती–मन्थली सडक बुधवारदेखि संचालनमा आउन सक्ने सम्भावना रहेको छ । 

जिल्ला समन्वय समितिमा मंगलबार बसेको बैठक 
 

यी सडकहरु संचालनमा आउँदै छन् ? 

खिम्ती जलविद्युत आयोजनाले जग्गा उपलब्ध गराएर सो जग्गाबाट सडक ट्याक खोलेर सवारी आवतजावत गराइने तयारी अगाडि बढेको उच्च स्रोतको दाबी छ । 

 

त्यस्तै आइतबार रातिदेखि नै सित्खा–गोगनपानी–भटौली–मन्थली सडक संचालनमा आएको छ । भीषण बाढीले बगाएको यो सडकलाई मर्मत गरी सवारी सञ्चालन भइरहेको छ । यद्दयपी बिपी राजमार्ग पूर्ण रूपमा नचलेकाले यो सडकको यात्रा केही अन्योल भइरहेको यात्रुहरूको गुनासो छ । 

 

यता मन्थली नगरपालिकाले अवरुद्ध सडकहरूलाई छिटो र छोटो रूपमा सञ्चालन गर्नको लागि वैकल्पिक सडक मन्थली १ बाट ८ चिसापानीको गाइखुरा– ११ नाटिला गेलु हुँदै वडा नं १२ गेलु सिक्राल–१३ फुलासीको जिरो किलो सडक सहज हुने विकल्प सार्वजनिक गरेको छ । जिरो किलो किर्नेबाट एक मिनेटमै पुग्ने सकिने भए पनि सडक तामाकोशीले पूरै बगाएपछि मन्थली १ देखि १३ सम्मको विकल्प सार्वजनिक भएको हो । मन्थली १ देखि ११-१२-१३ को वर्षाले जीर्ण बनाएको यो सडकलाई मर्मत समेत थालिएको छ । सुचारु गर्न सके मन्थली-काठमाडौँ यात्रा सहज हुने सक्ने सम्भावना देखिन्छ । 

 

मंगलबार देखि नै गाइखुरादेखि यो सडक मर्मत गरेर त्यस क्षेत्रका सवारी समेत सञ्चालन गरिएको छ । 

 

कतिपय, ले भने मन्थली–खिम्ती–नामाडी–बेताली–रस्नालु-सिउरेनी हुँदै दोलखाको जिरी खाडी चौरको अरनिको राजमार्ग प्रयोग गर्न सकिने बताउँदै आएको छन् । यो यात्रा निकै लामो हुने देखिन्छ । यद्यपि गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका स्थानीयहरूलाई यो बाटो निकै सहज हुने छ । 

खुर्कोट स्थित सुनकोशीले बगाएको पुल, तस्बिर स्रोत पुष्कर भट्टराई ।

 

कतिपयले तामाकोशी सहरेको सडक समेत प्रयोग गर्दै आइरहेका छन् । विभिन्न विकल्पहरू सार्वजनिक भइरदाँ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद एवं राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) समेतको सक्रियतामा सुनकोशीले ध्वस्त पारेर लगेको (खुर्कोट–मन्थली) कोशीमा तिहारसम्म बेलिब्रिज राख्ने गरी छलफलले तीव्रता पाएको बुझिएको छ । 

 

बागमती प्रदेशका सांसद युवराज चौलागाईले रामेछाप टाइम्संग कुराकानी गर्दै तिहार सम्म खुर्कोट बेलिब्रज राखिने र किर्ने सडकलाई तत्काल सुचारु गर्ने गरी मन्त्री स्तरमा छलफलले तीव्रता पाएको बताएका हुन् । 

 

उनले भने ‘मन्त्री स्तरमा हामीले खुर्कोट (आधा बाँकी रहेको) भागमा बेलिब्रिज राख्नको लागि जोड् दिएका छौँ । मन्त्रीज्यूबाट ४/५ वटा बेलिब्रिज स्टक रहेको बताउनु भएको छ । सोही अन्तर्गत पहिलो प्राथमिकता रामेछापलाई । बिपी राजमार्ग फूलपातीको दिनसम्म खुलाउने । रोशी खोलालाई ‘डाइभर्ट’ गरेर भए पनि राजमार्ग सञ्चालन गर्ने तयारी छ ।’ बिपी राजमार्ग खुल्ने बित्तिकै सुनकोसीमाथि उक्त काम अगाडि बढाउने प्रस्ट्याउँदै उनले भने ‘तिहार सम्म बेलिब्रिज राखिने सम्भावना छ।’

 

उनले दोस्रो विकल्प भन्दै ‘ऊर्जा मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग छलफल गरेर किर्नेमा गएको पहिरो स्थललाई छोडेर आयोजनाले जग्गा प्रदान गरेर सो क्षेत्रबाट सवारी आगमन सहज बनाउने गरी थप माथिल्लो स्तरमा जिल्लाका सबै ‘मान्य’हरुले जोड् दिएको सुनाए । 

 

जिल्लाका प्रमुख प्रवेश मार्गहरू भीषण बाढीले बगाएपछि यहाँका सरोकारवालाहरू तत्काल वैकल्पिक सडकहरू खुलाउने कार्यमा जुटेका हुन् । 

 

यो हेर्नुहोस् जिल्ला समन्वय समितिको बैठकले गरेका निर्णयहरु ?