जिल्ला विपद् व्यवस्थापन समितिको बैठक : रामेछापका यी क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस (निर्णयसहित)

| असोज १८, २०८१ शुक्रबार

A A A
A A A

१८ असोज, रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले रामेछाप जिल्लालाई ‘संकटग्रस्त क्षत्र’ घोषणा गर्ने माथिल्लो निकायमा सिफारिस गरेको छ । बैठकले विपद्ले जिल्लामा निम्त्याएको पछिल्लो अवस्था बारेमा वृहत् छलफल तथा समीक्षा समेत गरेको हो । संघीय सरकारले अन्य विभिन्न जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्दा रामेछापलाई नगरेको भन्दै आलोचना भइरहेको छ । ११ र १२ गतेको भीषण वर्षाको कारण अन्य जिल्लाहरुसंग सिधा सम्पर्क टुटेको रामेछापलाई संकटग्रस्त जिल्ला घोषणा गर्नु आपत्ति जनक भएको भन्दै यहाँका प्रदेश सांसद्हरुले नै सरकारको आलोचना गरिरहेका छन् ।

 

आज शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गएको असोज ११ देखि १३ गते सम्मको भीषण वर्षाले जिल्ला सदरमुकाम मन्थली नगरपालिकासहित आठ वटै स्थानीय तहमा विभिन्न घटनाहरू भएको उल्लेख गर्दै ‘मनसुनजन्य विपद्का कारण ठुलो मात्रमा भौतिक पूर्वाधार लगायतको क्षति भएको यी स्थानीय तहका क्षेत्रहरूलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को व्यवस्था बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । 

 

प्रशासनले मन्थली नगरपालिकामा सुनकोशी नदीको खुर्कोट– सेलेघाट पक्की पुल बगाएको, खाँडादेवी गाउँपालिकामा १,३ र ४ स्थित सुनकोशी नदीको खैरेनीघाटमा रहेको पुल बगाएको, सुनकोशी नदीमा आएको बाढीका कारण सित्खा बजारको बस्ती विस्थापित भएको, उमाकुण्ड गाउँपालिकाको वडा नं ३ कुभुँकास्थलीमा पहिरो आई बस्ती विस्थापित भएको उल्लेख गरेको छ । 

 

त्यस्तै रामेछाप नगरपालिकामा २,३,४,५, ७ र ९ नं.को दुई वटा झोलुङ्गे पुल बगाएको, नदी किनारामा रहेका बाह्र घर विस्थापित भएका र सोही पालिकाको वडा नं ७ र ९ मा दुई वटा झोलुङ्गे पुल बगेको, दोरम्बा शैलुङ् गाउँपालिकामा ठुलो पहिरो आई बस्ती विस्थापित भएको लगायतका विपद् परेको विवरण उल्लेख गरेको छ । 

 

त्यस्तै सुनापति गाउँपालिका वडा नं १,२,४ र ५ मा सुनकोशी नदीले बस्ती डुबाएको, लिखु लिखु तामाकोशी गाउँपालिकामा  लिखु र तामाकोशी नदीले बस्ती कटान गरेको र गोकुलगंगा गाउँपालिका ५ र ६ मा पहिरोको कारण घरहरू बगाएको विपद् व्यवस्थापन समितिले सिफारिस गरेको निर्णयमा उल्लेख गरेको छ । 

 

यो हेर्नुहोस् निर्णयहरु ?