जोडियो मन्थली–खुर्कोट सडक पुल

| असोज ३०, २०८१ बुधबार

A A A
A A A

३० असोज, रामेछाप । गत असोज ११ र १२ गते आएको भीषण बाढीले बगाएको सुनकोशी नदीमाथिको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने सडक पुल जोडिएको छ । तत्कालीन अवस्थामा बेलिब्रिज निर्माण गरिएपछि यात्रा गर्न सहज भएको हो । बेलिब्रिज मार्फत दुई सडक जोडिए पनि यात्रा गर्न भने केही समय लाग्ने छ । बेलिब्रिजलाई मजबुत बनाउने र सुनकोशीले कटान गरेको मन्थली-६ भलुवाजोरको सेलेघाट तर्फको केही सडक ग्याबिन भरेर पूरा गर्नु पर्ने भएकाले यात्रा गर्न केही समय लाग्ने बुझिएको हो । 

 

ऊर्जा, राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष पहल र अहोरात्र खटाइमा बेलिब्रिज निर्माण गरेर नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य र सहज मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पुर्‍याएको हो । 

 

बुधवार सुनकोशी नदीले बगाएर बाँकी रहेको आधा पुलमाथि रहेको पक्की पुलको भागबाट बेलिब्रिज मन्थली तर्फ पठाएर पुल जोडिएको हो । बेलिब्रिज जोड्ने क्रममा समेत राज्य मन्त्री तामाङ उपस्थित थिए । 

 

सुनकोशी नदीले रामेछापको लाइफलाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि जिल्ला भित्रने सवारी साधान सित्खा–गोगनपानी–भटौली हुँदै मन्थली आउने गरेका थिए । कतिपय सवारी दोलखाको चरिकोट–तामाकोशी–मिल्ती–खिम्ती हुँदै मन्थली भित्रन्थे । यी दुई सडक यात्राको लागि निकै लामो दूरीका हुन् । 

 

तीन घण्टाको यात्रा ६ घण्टा सम्म हुँदा यात्रुहरू सास्ती भएका छन् । खुर्कोटको पुल बिलिब्रिज मार्फत जोडिएपछि यात्रामा सहज भएको छ ।