आज रामेछाप विमानस्थलबाट ४६ वटा हेलिकप्टर, २ वटा ‘चार्टड’ जहाज उडान मार्फत २८५ जना पर्यटक गन्तव्यमा पुगे, ५ सय मन्थलीमै

| कात्तिक २, २०८१ शुक्रबार

A A A
A A A

२ कात्तिक, रामेछाप । सोलु खुम्बुको लुक्ला विमानस्थलको मौसममा आएको खराबीको कारण तीन दिन देखि मन्थलीमै रोकिन बाध्य भएका पर्यटकहरू शुक्रवार (आज) चार्टड उडान र हेलिकप्टर मार्फत झण्डै तीन सय जना गन्तव्य तर्फ उडेका छन्  । 

 

लुक्लाको ‘भिजिबिल्टि’ कम हुँदा उडान हुन नसकेको कारण रोकिएका पर्यटकहरू बिहान भएको दुई वटा चार्टड उडान र ४६ वटा हेलिकप्टर ‘फ्लाइट’ मार्फत गन्तव्य तर्फ गएको रामेछाप विमानस्थल कार्यालयले जनाएको छ । आज दिनभर ४६ वटा हेलिकप्टर उडान मार्फत २३० जना पर्यटक सोलुखुम्बुको सुर्के तर्फ गएको रामेछाप विमानस्थलका निमित्त प्रमुख प्रज्जवल गुरागाईँले रामेछाप टाइम्सलाई बताए । 

 

‘बिहान काठमाडौँको लागि एउटा नियमित उडान भयो । दुई वटा उनीहरूले चार्ट गरेका थिए, जुन उडान मार्फत एउटामा स्थानीय मात्रै र चार्ट उडानमा नेपाली र विदेशी दुवै काठमाडौँ गए’ निमित्त विमानस्थल प्रमुख गुरागाईँले भने ‘सुर्के तर्फ ४६ वटा हेलिकप्टर उडान भयो ।’

 

हेलिकप्टरमा एउटा उडानमा ५ जनाको दरले सुर्के गएका हुन् । मन्थलीबाट काठमाडौँ बिहान समिट एयरलाइन्स एक उडान मार्फत स्थानीय लगेको हो । 

 

लुक्लामा स्थानीय वायुको प्रभावकै कारण धुमल्लिएको मौसमको कारण केही दिन यता झण्डै १२ सय बढी विदेशी पर्यटक मन्थलीमै बस्न बाध्य भएका थिए । विदेशीलाई सगरमाथा प्रवेशको रूपमा रहेको मन्थलीमा मौसम खुले पनि लुक्लाको मौसम प्रतिकुल हुँदा यही बस्नु पर्ने बाध्यता भएको हो । कतिपय पर्यटकहरू गाडीमार्फत मन्थली–खिम्ती–मिल्ती–तामाकोसी नयाँ पुल– चरिकोट हुँदै काठमाडौँ नै गएको समेत बुझिएको छ । कतिपय ले भने गाडी रिजर्भ गरेर गाडी मार्फत पनि सोलु खुम्बु तर्फ हिँडेका छन् । 

 

तीन दिन देखि रोकिएका पर्यटक बुधवार, बिहीबार र शुक्रवार सम्म गरी केही जहाज र हेलिकप्टर मार्फत भएका उडानहरूबाट  गन्तव्य तर्फ जाँदा अहिले मन्थलीमा झण्डै ५ सय विदेशी रहेको निमित्त विमानस्थल प्रमुख गुरागाईँले रामेछाप टाइम्सलाई बताए । 

 

शुक्रवार साँझमा रामेछाप विमानस्थलमा प्रभु, मनाङ, फिस्टेल, कैलाश, सिम्रिकसहित गरी ७ वटा हेलिकप्टर बासमा (बिसान) छन् । भने, समिट एयरलाइन्सको एक जहाज पनि रामेछाप विमानस्थलमा बासमा छ । 

 

लुक्लाको मौसम बिग्रिएर मन्थलीमा पर्यटक रोकिँदा यहाँका होटेल व्यवसायीहरूलाई फाइदा पुगेको छ । यहाँ रोकिने पर्यटकको संख्या धेरै हुँदा होटेल व्यवसायीहरूलाई उनीहरूको राम्रो व्यवस्थापनमै समस्या देखिन थालेको समेत एजेन्सीहरूले दाबी गरेका छन् । यद्दयपी व्यवसायीहरूले भने पर्यटकहरूलाई रमणीय वातावरणमा राखेको तर्क गरेका छन् । 

 

शनिवार उडानको लागि झण्डै ५ सय जना पर्यटकहरू मन्थलीमा रहेको विमानस्थलका निमित्त प्रमुख गुरागाईँले बताएका हुन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार