उमाकुण्ड–७ भुजीमा सुरु भयो ‘भुजी लिग फुटबल प्रतियोगिता’, पहिलो खेल बराबरी

| कात्तिक ३, २०८१ शनिबार

A A A
A A A

३ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा प्रत्येक वर्ष हुँदै आएको ‘भुजी लिग’ हिजो (शुक्रवार) देखि सुरु भएको छ । पहिलो दिनको खेल भुजीकै एफ्बिसि (FBC) र बुम्देल (Bumdel) बिच भएको थियो । जुन खेल बराबरीमा सकिएको छ । गाउँपालिकाको प्रायोजन, वडा स्तरीय खेलकुद विकास समिति तथा भुजी र लिखु भुजी रामेछाप युवा क्लबको सह–आयोजना, गाउँपालिका खेलकुद विकास समितिसँगको समन्वयमा फुटबल क्लब भूजीले प्रतियोगिता आयोजना आयोजना गरेको हो । 

 

गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले उपाध्यक्ष सावित्री सुनुवार, निवर्तमान उपाध्यक्ष उर्मिला कार्की (बस्नेत), पालिकाका प्रवक्ता एवं ७ नम्बर भुजीका वडा अध्यक्ष रुद्रमणी नेवार, खेलकुद विकास समिति उमाकुण्ड गाउँपालिका अध्यक्ष सुदीप सुनुवारसहित जनप्रतिनिधि, समाजसेवी, बुद्धि जिवीहरुको उपस्थितिमा खेल उद्घाटन गरेका हुन् । 

 

खेल उद्घाटन गर्दै पालिका अध्यक्ष सुनुवारले खेलकुदलाई सबै अंगको रूपमा लिएको बताए । खेलकुद सामाजिक,संदभाव, आर्थिक, मित्रता र स्वास्थसंग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै सबै खेल विशेष हुने धारणा राखे । उनले नीतिगत रूपमा गाउँपालिकाले खेलकुद विकास समिति गठन गरी खेल क्षेत्रलाई अगाडि बढाउने प्रयास गरेको धारणा राखे ।  अध्यक्ष सुनुवारले अमृत घाम छाया खेल मैदानका लागि ५० लाख भन्दा माथि बजेट विनियोजन गर्ने आश्वासन दिए । 

 

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले खेलकुद संस्कार, संस्कृति,पर्यटन, मनोरञ्जन, सद्भाव, सदाचारसँग जोडिएकाले पालिकाले प्राथमिकतामा राखेर बजेट समेत विनियोजन गरेको बताइन् । 

निवर्तमान उपाध्यक्ष उर्मिला कार्कीले खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मुलुकमा चिनाउने सजिलो माध्यम भएको धारणा राखिन् । साथै, काँग्रेस नेतृ कार्कीले खेल क्षेत्रमा राजनीति मिसाउन नमिल्ने र स्वतन्त्र हुनु पर्नेमा जोड् दिइन् ।

 

गाउँपालिकाका प्रवक्ता समेत रहेका भुजीका अध्यक्ष नेवारले खेलाडीले मर्यादित र अनुशासित रूपमा खेल खुल्नु पर्नेमा ध्यानाकर्षण गराउँदै पालिकाले खेलकुदमा बजेट धेरै लगानी गरेको दाबी गरे । पालिकाले गरेको खेल क्षेत्रको लगानीले प्रदेश, संघमा समेत उमाकुण्डका खेलाडीहरू छनोट भएको भन्दै त्यो प्रतिफल भएको तर्क गरे । 

शुक्रवार देखि सुरु भएको फुटबल प्रतियोगितामा आगामी कात्तिक ९ गते शुक्रवार सम्मै चल्ने छ । १ लाख २६ हजार नगद सहित स्वर्ण पदक र रनिङ सिल्ड प्रथम पुरस्कार रहेको सो प्रतियोगितामा उपविजेताले नगद ६३ हजार २६ रुपैयाँ, रजत पदक पुरस्कार पाउने छ । 

 

त्यस्तै तेस्रो हुनेले कांस्य पदकसहित ३० हजार २६ रुपैयाँ नगद र सानत्व हुनेले १० हजार २६ रुपैयाँ नगद पुरस्कार जित्ने आयोजकले जनाएको त्यहाँ स्थित सञ्चारकर्मी मणिराज सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

त्यस्तै खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

 

प्रतियोगितामा रामेछाप, दोलखासहितका विभिन्न जिल्लाका १४ टिमको सहभागिता रहेको छ ।

 

तस्बिर स्रोत भुजी लिगको फेस्बुक ।