दशैं तिहार बिदा : विद्यार्थीको पढाई बुझ्न मन्थली माविका शिक्षकहरू घरदैलोमा !

| कात्तिक ५, २०८१ सोमबार

A A A
A A A

५ कात्तिक, रामेछाप । जिल्ला भरकै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यार्थी भएको नमुना मावि मन्थलीले घरदैलो अभियान गरिरहेको छ । दशैं तिहार बिदाको बेला दशैंको लागि विद्यार्थीहरूलाई दिएको होमवर्क सहित उनीहरूको पठनपाठनको वास्तविकता बुझ्नको लागि आइतबार देखि मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीसहित टोल–टोलमा पुगेर विद्यार्थीसँग भेटघाट थालेका हुन् । दशैं सकिएर तिहारको फुर्सदिला भएका विद्यार्थी पनि टोल–टोलमा सरहरू पुगेपछि खुसी देखिएका छन् । 

 

माविका मन्थलीमा उपस्थित शिक्षकहरूको टोलीले आइतबार (हिजो) देखि मन्थलीको सोलमारी, कुनौरी क्षेत्रबाट विद्यार्थीसहित उनीहरूका अभिभावकलाई भेटेर बिदाको समयमा बालबालिकाको पठनपाठनको अवस्था बारेमा जानकारी लिएका हुन् । 

 

झण्डै एक महिला लामो दशैं तिहार बिदामा विद्यार्थीहरूले शिक्षकले दिएको होमहोर्कसंगै घरमा उनीहरूको दैनिकी, प्रतिदिन पढ्ने समय र खानपान सही तरिकाले गरेमा मात्रै पठनपाठन राम्रो हुने भन्दै त्यो भएको छकी छैन भनेर बुझ्नको लागि आफूहरूले घरदैलो अभियान थालेको विद्यालयका प्रअ दाहालले बताए । 

 

अभिभावकले विशेष चासो र निगरानीमा राखेर उनीहरूको पठनपाठनलाई निरन्तरता दिने समय भएकाले बालबालिकाको राम्रो ख्याल राख्ने समेत उनले आग्रह गरे । चाड पर्वको बेलामा खानपानमा समेत ध्यान दिनु पर्नेमा जोड् दिँदै स–साना बालबालिकालाई बजारको जंग फूट दिन नहुने समेत सचेत गराउँदै दोस्रो दिन मन्थली नगरपालिका–२ टेकानपुरमा प्रअ दाहालले यो बेलामा गृहकार्य सक्ने र आवाज निकालेर प्रतिदिन पढ्न समेत विद्यार्थीहरूलाई सुझाए । 

बिहानै वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीसहित भेटघाटमा पुगेका शिक्षकहरूले अभिभावकहरूबाट समेत गुनासो र बालबालिकाको पठनपाठन अवस्था बारेमा बुझेका छन् । अभिभावकका टोल–टोल अनुसार फरक फरक समस्या सुनाएको बताउँदै सहायक प्रअ चन्द्र सीङ धामीले ती समस्यालाई एक मुस्टमा विद्यालय प्रशासन र अभिभावकहरू मिलेर सम्बोधन गर्नु पर्नेमा जोड् दिए । 

 

भेटघाटबाट विद्यार्थीहरूले बिदाको समयमा बिताइरहेको दैनिकीको बारेमा जानकारी भएको बताउँदै शिक्षक विष्णुबहादुर थापाले उनीहरूले पठनपाठनको क्रममा देखिएका कमजोरी सुधार्ने मौका पाएको धारणा राखे । 

 

विद्यार्थी, शिक्षक र अभिभावक समेतको उपस्थिति माझ बोल्दै वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले विद्यार्थीहरूको अवस्था र पठनपाठन बारे बुझ्नु निकै प्रशंसनीय कार्य गरेको बताए । आफू निर्वाचित भए यता शैक्षिक सुधारमा आफूले गरेका प्रयास बारेमा सुनाउँदै बालबालिकाको पढ्न पाउने अधिकारलाई आफूहरूले रोक छेक कसै गरी पनि नगर्ने बताए । विगतमा केही गलत अफवाह फैलाएर जनप्रतिनिधिलाई आलोचना गर्ने प्रयास भएकोमा दुख व्यक्त गर्दै शैक्षिक सुधार गर्ने आफूहरूले गर्नु पर्ने जुनसुकै कामको लागि तयार रहेको प्रतिबद्धता जनाए । 

 

झण्डै २ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको मन्थली मावि सरकारी क्षेत्र विद्यालय हो । यो विद्यालयले एसइई मा सत प्रतिशत विद्यार्थी उर्तिर्ण गराउँदै आएको छ । निजी क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई समेत आकर्षण गराउन सफल यो विद्यालयले शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।