बाढी पहिरो प्रभावित घरपरिवारलाई जस्तापाता र आर्थिक सहायता गर्ने सुनापति गाउँपालिकाको निर्णय

| कात्तिक ६, २०८१ मंगलबार

A A A
A A A

६ कात्तिक, रामेछाप । सुनापति गाउँपालिकाले यस वर्षाको अविरल वर्षाले क्षति ग्रस्त बन्न पुगेका पीडितलाई राहत सामाग्री र आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

 

सोमबार बासेको गाउँ कार्यपालिका बैठकले अविरल वर्षाको कारण घर भत्किएर बसोबास गर्न नमिलेका, पशु चौपाया, खेतबारीसहित अन्नबालीको क्षति बेहोरेका पीडितहरूलाई नगद र जस्तापाता सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए । 

 

उनका अनुसार बाढी पहिरोको कारण दैनिक क्रियाकलापमा असहजता भोगी रहेका स्थानीयहरूलाई वडाबाट पहिचान गरी सुनापति विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७८ अनुसार राहत प्रदान गर्ने निर्णय गरिएको हो । 

 

साथै, अस्थायी आवास निर्माणको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेस गर्ने र तत्कालै गाउँपालिकाबाट घर पूर्ण क्षति भएर बसोबास गर्न विकल्प नै नभएको परिवारलाई ३ बन्डल जस्तापाता दिने निर्णय गरिएको हो ।

 

बाढी पहिरोबाट मानवीय क्षति नभएको सो पालिकामा बसोबासको लागि वैकल्पिक व्यवस्था भएका प्रभावितलाई २ बन्डल जस्तापाता दिने र पहिरोमा पुरिएर मरेको भैँसी (प्रति वटा) नगद २० हजार, गोरु र गाई (प्रति वटा) नगद रु १२ हजार,  बाख्रा (प्रति वटा) नगद रु ८ हजार, बाख्राको पाठा पाठी (प्रति वटा) नगद रु २ हजार दिने निर्णय भएको अध्यक्ष तामाङले बताए । 

 

यसपालिको बर्खाले मानवीय क्षति नभए पनि ठूलो मात्रमा भौतिक क्षति भएको सो पालिकामा क्षतिको विवरण समेत संकलन भइरहेको बताइएको छ ।