जिल्ला समन्वय रामेछापले खैरेनीघाटको पुल र किर्ने सडकको तत्काल पुनः निर्माण गर्न माग गर्दै मन्त्री दाहाललाई बुझायो पत्र

| कात्तिक १०, २०८१ शनिबार

A A A
A A A

१० कात्तिक, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले यस वर्षाको बाढी पहिरोले क्षति पुर्‍याएका सडक र पुलको पुनः निर्माण चाँडो भन्दा चाँडो गरिदिन मन्त्रालयलाई ध्यानाकर्षण गरेको छ । जिल्ला समन्वय यहाँका नागरिकहरूको सहज सेवाको लागि सधैँ तत्पर रहेको समन्वयको भनाई छ ।

 

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र बुझाउँदै गएको असोज १० देखि १२ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको मन्थली नगरपालिका वडा नं १३ स्थित किर्ने र देविटार जोडने सडक र खाँडादेवी गाउँपालिका वडा नं १ स्थित खैरेनीघाट–सुनकोशी (सिन्धुली) जोड्ने पुलको पुनः निर्माण गरिदिन आग्रह गरेकी हुन् । २०७६ साल साउन १९ गतेदेखि संचालनमा आएको यो पुल पनि असोज १२ को बाढीले पूर्ण रूपमा बगाएको छ । जसको असर सुनापति, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका स्थानीयहरूलाई परिरहेको छ । 

 

मन्थली–खुर्कोट जोड्ने बेलिब्रिज उद्घाटन गर्न आएका मन्त्री दाहाललाई तत्काल पत्र बुझाउँदै समन्वय प्रमुख खड्काले खैरेनीघाटको पुल र किर्नेको सडक तत्काल पुनः निर्माण गरी यहाँका नागरिकरहरुलाई सहज सेवामा जोडिदिन आग्रह गरेकी हुन् ।

 

सेलेघाट स्थित खुर्कोटको बेलिब्रिज २२ दिन भित्रै जोडिएर केही राहत महसुस गरेको भन्दै समन्वय प्रमुख खड्काले तीन पालिका जोड्ने खैरेनीघाटको पुल पनि उत्तिकै आवश्यक रहेकाले चाँडै पुनः निर्माण गरिदिन आग्रह गरिन् । आफूहरूले जिल्लाका भौतिक संरक्षण बाढी पहिरोबाट तहसनहस भएर आफू स्तब्ध भएको बताउँदै समन्वय प्रमुख खड्काले पुनः निर्माणको लागि सबैको एक हुन आवश्यक रहेको धारणा राखिन् ।