रामेछाप जिल्ला सहकारी संघले ’वर्ष उत्कृष्ट’ सहकारीसहित उत्कृष्ट अभियान्ता र व्यवस्थापकलाई सम्मान गर्‍यो

| कात्तिक ११, २०८१ आइतबार

A A A
A A A

११ कात्तिक, रामेछाप । रामेछाप जिल्ला सहकारी संघले यो वर्षको ‘उत्कृष्ट सहकारी संस्था’ विधासहित तीन जनालाई सम्मान गरेको छ । एक संस्थालाई सम्मान गरेको संघले दुई जना सहकारी अभियान्ताहरुलाई सम्मान गर्दै सहकारी अभियान प्रति प्रेरित गरेको हो । 

 

शनिवार मन्थलीमा संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा मन्थली नगरका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरका प्रमुख लवश्री न्यौपानेसहित विभिन्न सहकारी अभियान्ताहरुको उपस्थितिमा आयोजित संघको सातौँ वार्षिक साधारण सभाको अवसर पारेर मन्थलीमा संचालित मन्थली बचत तथा ऋण सहकारी (साकोष) सहित सहकारी अभियान्ता सोमेश थापा र नानु खत्रीलाई सम्मान पत्र प्रदान गरेको हो । 

 

१९८ वटा सहकारी संस्थाहरू आबद्ध संघले मन्थली (साकोष) लाई यो वर्षको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको हो । भने, लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील एवं नवजागरण बचत तथा ऋण सहकारीका सचिव सोमेश थापालाई  उत्कृष्ट सहकारी अभियान्ता पुरस्कारबाट सम्मानित गरेको हो । 

त्यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिका बेतालीमा संचालित बेताली बचत तथा ऋण सहकारीकी व्यवस्थापक नानु खत्रीलाई उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट सम्मान गरेको हो । दुई नगरका प्रमुखसहित प्रदेश तथा जिल्ला तहका सहकारी अभियन्ताको भव्य उपस्थितिका बिच उनीहरूलाई सम्मान प्रदान गर्दै सहकारी अभियानमा थप क्रियाशील भएर लाग्न उक्त सम्मान प्रदान गरिएको संघका अध्यक्ष ढुङ्गेलले बताए । 

 

वार्षिक साधारण सभामा संघले आफ्नो आयव्ययको विवरण समेत सार्वजनिक गरेको छ ।