रामेछापको तल्लो सुनारपानीमा ६० लाख लागतमा ड्रागनसंगै नर्सरी र पुष्प खेती, लाखौं आम्दानी गर्ने बाटोमा रामबहादुर (भिडिओसहित)

दीपावलीमा मात्रै ५ लाख भन्दा माथिको फूलको बिक्री गर्ने उनको तयारी

| कात्तिक ११, २०८१ आइतबार

A A A
A A A

११ कात्तिक, रामेछाप । मन्थली नगरपालिका वडा नं ५ तल्लो सुनारपानी डाँडा गाउँका रामबहादुर साहीले सुख्खा (खडेरीलाग्ने) जमिनमा ड्रागन फूड्संगै फलफूल र नर्सरी खेती गरेर मनग्य आम्दानीको बाटो रोजेका छन् । नजिकिएको फूलैफूलको पर्व तिहार एवं दीपावलीमा मात्रै ५ लाख भन्दा माथिको फूलको बिक्री गर्ने उनको तयारी छ । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट नजिकै रहेको उनकै पूर्खेउली ५ रोपनी बराबरको जग्गामा ड्रागन फुड बगैँचाभित्र फूल ढकमक्क फूलेको छ । लामो समय काठमाडौँ, ललितपुर र सिन्धुलीमा समेत पुष्प खेती र व्यवसायको अनुभवी रामबहादुरले पछिल्लो एक वर्षदेखि आफ्नै पुर्ख्यौली जमिनमा फलफूलसँगै नर्सरी टनेल निर्माण गरी ड्रागनसंगै फुल खेती गरेर मनग्य आम्दानी लिन सकिने उदाहरण पेस गरेका हुन् । ६० लाख बराबरको लागतमा पुष्प खेती थालेको सुनाउँदै साही सुनाउँछन् ‘अरूले पनि गरुन् भनेर मैले यहाँ काम थालेको हो । म, मात्रै गरौँ भनेर भन्दा पनि सिकाउन चाहन्छु ।’

 

२०३९ सालदेखि गाउँ छोडेर सिन्धुलीमा जागिरसँगै जापनिजहरूसँग पुष्प खेतीको अनुभव लिन पाएको सुनाउँदै साहीले भने ‘जति उत्पादन भए पनि बजार पाइँदैन कि भन्ने चिन्ता छैन मलाई । जति पनि बिक्री हुन्छ । मैले यसको राम्रो बजार छ भन्ने बुझेको छु ।’

पछिल्लो पटक मन्थली नगरपालिकाले समेत १ लाख अनुदान सहयोग पाएकोमा खुसी व्यक्त गर्दै तीन सय बोट ड्रागन फुड बिरुवा रोपेर उक्त खेतीको सुरुवात गरेको सुनाए । पानीको सहज सुविधा नरहेको सो ठाउँमा उनले थोरै पानीको प्रयोगमा राम्रो उत्पादन र आम्दानी गर्न सकिने पुष्प खेती विस्तार गर्ने योजनामा रहेको सुनाए । ‘यहाँ वरपरको सबै बाँझो जग्गालाई कुनै खाली नराखौँ भन्ने मेरो योजना छ’, आगामी दिनमा यो खेती थप विस्तार गर्ने सुनाउँदै साहीले सुनाए ‘लक्की बेम्बो देखि रुद्रछ्य, विभिन्न जातका आँप, अम्बकका बिरुवा पनि रोकेको छु । केही समयमा उत्पादन दिन्छ ।’

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनको लागि ५ लाख अनुदान समेत बुझेका साहीले अर्को टनेल समेत थप्दै छन् । उच्च र आधुनिक प्रविधिको प्रयोगबाट नर्सरीको लागि टनेल निर्माण गरिएको छ । स्थानीयहरूलाई त्यहाँ रोजगारीको समेत दिन थालेका छन् साहीले । 

‘यो वर्ष म, फूले बाहिर बेच्ने चाहानामा छैन । बिकेसम्म मन्थली आसपास नै बिक्री गर्न चाहेको छु’, तिहारमा प्रतिकेजी २५० रुपैयाँ देखि ३ सय सम्म फूल बिक्री गर्ने भन्दै १ केजी फूलबाट ३ वटा सम्म माला हुने जानकारी गराए । तिहारमा लक्ष्मी पूजाको अघिल्लो दिन देखि फूल धमाधम बिक्री गरिने साहीले रामेछाप टाइम्संग बताए । 

 

यसरी वडाका एक स्थानीयले गरे के हुँदैन भन्ने उदाहरणीय बनेपछि खुसी व्यक्त गर्दै वडा अध्यक्ष रविन कार्की (नवीन) ले रामबहादुरबाट सबैले सिक्न जरुरी रहेको बताए । स्थानीय सरकारले काम गर्नेलाई आफै खोज्दै आउने उल्लेख गर्दै वडा अध्यक्ष कार्कीले भने ‘सम्भावना नभएका हैनन् । तर, ती सम्भावनाहरूलाई क्याच गर्न सक्नु पर्‍यो’, काम गर्छु भन्नेलाई अवसरहरू धेरै रहेको बताउँदै उत्पादन भएको वस्तुलाई खपत नभए स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाए ।