मन्थली भैशेश्वर क्षेत्रका अधिकांश होटेल तथा पसल ‘फोहोर’ !
१३ कात्तिक, रामेछाप । जिल्लाको सदरमुकाम प्रदेशद्वार क्षेत्रका अधिकांश होटेल तथा पसल ‘फोहोर’ भएको पाइएपछि सरसफाइ गर्न निर्देशन गरिएको छ । सोमबार बिहान उद्योग तथा वाणिज्य कार्यालय मन्थलीले आकस्मत गरेको अनुगमनको क्रममा मन्थली भैशेश्वर क्षेत्रका सबै जसो खाद्यान्न, डेरी एवं चिया पसल, होटेलहरू फोहोर एवं दुर्गन्धित भएको पाइएपछि सरसफाइ गर्न अनुगमन टोलीले पत्रसमेत काटेको छ ।
वाणिज्य कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय, रामेछाप उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण समिति र पत्रकारसहितको अनुगमनको क्रममा भैशेश्वर र खाँदबारीका तीन खाद्यान्नका पसलसहित १९ वटा पसल तथा होटेलहरूको अनुगमन गर्दा अधिकांश पसल तथा होटेलहरू धुलाम्य, सडेगलेका वस्तुहरूको दुर्गन्ध फैलिएको र बिक्री स्थल आसपास पूर्ण सरसफाइ नभेटिएकाले व्यापारीहरूलाई सरसफाइमा ध्यान दिएर सात दिन भित्र पूर्ण रूपमा स्वच्छ वातावरण बनाउन अनुगमन समितिले निर्देशनसहितको पत्र काटेको हो ।
खाँदबारी स्थित पूर्ण सरसफाइ अवस्थामा भेटिएको पसल । यो पसल भने पूर्ण सफा र व्यवस्थित तरिकाले बिक्री गरिएको पाइएको छ ।
बिक्री स्थलको वातावरण दुर्गन्धित हुँदा त्यहाँबाट बिक्री हुने उपभोग्य सामाग्रीमा समेत असर पर्दछ । त्यस्तो अवस्थामा मन्थली प्रवेश गर्ने प्रमुख नाका जस्तै रहेको भैशेश्वरका होटेलहरू फोहोर हुँदा त्यसको असर सम्पूर्ण व्यवसायमा पर्ने देखिन्छ । खाद्यन्नका सामाग्रीसंगै अधाद्य सामाग्री राखेर अव्यवस्थित तरिकाले बिक्री गर्नेको संख्या पनि उत्तिकै देखिएको छ । साथै, व्यापारीहरुले समेत केही सामाग्री कुन ब्राण्ड, बेच्न अनुमति छ छैन् भन्ने थाहा नभएको समेत भेटिएको छ । केही सामाग्री यहाँको बजारमा बिक्री गर्नै नमिल्ने सामाग्री समेत उनीहरुले बिक्रीको लागी राखेको भेटिएको छ ।
छिट फुट् ठुला खाद्यान्न पसल बाहेक चिया पसलमा समेत सरसफाइमा ध्यान नदिएको प्रस्ट देखिएपछि टोलीले सरसफाइ गर्न निर्देशन दिएको थियो ।
तिहार लक्षित आकस्मत अनुगमनमा केही पसलहरूबाट म्याद गुज्रिएका सामाग्री समेत भेटिएको छ । तर, व्यापारीहरू पछिल्लो समय ‘डेटएक्सपायर’ सामाग्रीको बिक्री वितरणमा भने केही सचेत भएको बुझिएको छ ।