रामेछापको नवजागरण बचत तथा ऋण सहकारी बागमती प्रदेशकै उत्कृष्ट सहकारी बन्यो
१२ कात्तिक, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था (साकोष) बागमती प्रदेशभरि कै उत्कृष्ट सहकारी बनेको छ । साकोषले सोमबार साधरणसभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता, वृद्ध वृद्धा शेयर सदस्यहरूलाई प्रेसर कुकर, प्रशंसा पत्र, काँसको थालसहितले सम्मान समेत गरेको छ ।
सोमबार नवजागरण बचत तथा ऋण सहकारीको (साकोष) का अध्यक्ष श्याम थापाको अध्यक्षतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठसहित विभिन्न वडा अध्यक्ष, सहकारी अभियान्ताहरुको उपस्थितिमा २६ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाका सचिव सोमेश थापाले साकोष बागमती प्रदेशभरका सहकारी मध्य उत्कृष्ट सहकारी घोषित बनिसकेको बताएका हुन् ।
उनले भने ‘तपाई सदस्यहरूको माझ यो जानकारी गराउन पाउँदा हामी निकै हर्षित छौँ । कि हामीलाई प्रदेशबाट हाम्रो सहकारी प्रदेशभरका सहकारी मध्ये उत्कृष्ट भएको छ’, यही कात्तिक २२ गते उत्कृष्ट भएको पुरस्कार ग्रहणको निम्त खबर समेत आइसकेको छ । हामी प्रदेशभरकै उत्कृष्ट भएका छौँ ।’
२०५५ साल साउन १२ गतेदेखि यहाँका स्थानीय महिलाहरूको सक्रियतामा मासिक १० रुपैयाँ संकललन बचत गर्ने गरी सुरु भएको नवजागरण २६ वर्षपछि अरबको कारोबार सँगै ९ हजार ८ सय ६४ जना शेयर सदस्य पुगेका छन् । साकोसले यसै आर्थिक वर्षभित्र सदस्य संख्या १० हजार पुर्याउने लक्ष्य लिएको सचिव सोमेश थापाले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी योगदान गर्दै आएको साकोषले एक आर्थिक वर्षभरिमा आफ्ना ४१ जना सदस्यको निधन भएपछि प्रदान गर्ने २०–२० हजारको दरले दिँदै आएको राहत रकम विभिन्न रोगको प्रकृति हेरी ८ लाख ९० हजार प्रदान गरेको छ ।
त्यस्तै सदस्यको सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत साकोषले ६६ जना शेयर सदस्यहरूलाई सुत्केरी खर्च बापत १ लाख ३२ हजार प्रदान गरेको छ । गत आर्थिक वर्षमा मात्रै १ करोड ७९ लाख ७३५ सय ४४ पैसा नाफा कमाउन सफल साकोषले ५८ करोड ३४ लाख २४ हजार ४३ रुपैयाँ ५६ पैसा बचत रहेको जनाएको छ ।
आगामी आर्थिक वर्षको लागि अगाडि सारेका नीति तथा योजनालाई कार्यान्वयन गर्ने ठाउँमा १४ जना सञ्चालक समिति सदस्य सहित सोमेश थापा अध्यक्षको जिम्मेवारीमा पुगेका छन् । सोमबार साधारण सभाकै अवसरमा साकोषले नयाँ कार्यसमिति समेत पाएको हो ।