राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखा बन्यो देशभरकै उत्कृष्ट, केन्द्रमा नयाँ टिम

| कात्तिक २८, २०८१ बुधबार

A A A
A A A

२८ कात्तिक, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एन्एफपिजे) देशभर कै उत्कृष्ट शाखा घोषित भएको छ । गएको शनिवार काठमाडौँ भएको (एनएफपिजे) नेपालको २७ औँ वार्षिक उत्सव तथा १३ औँ अधिवेशनको अवसरमा रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरेको हो । अधिवेशनले समूहको केन्द्रीय समितिमा नयाँ नेतृत्व समेत सर्व सहमतिमा टुङ्ग्याएको छ । 

 

२०८० साउन ६ गते जिल्ला शाखा गठन भएयता चलायमान भएको, समूहको उद्देश्य अनुसार गतिविधिहरू निरन्तर गरिराखेको भन्दै देशभरका गठित शाखाहरू मध्ये उत्कृष्ट घोषित गरेको हो । खानेपानी मन्त्री प्रदीप यादवले समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तसहित एक भव्य समारोहमा उत्कृष्ट शाखा घोषणासहित सम्मानपत्रद्वार सम्मान प्रदान गरेका हुन् । 

 

विभिन्न ५ विधामा देशका विभिन्न फोटोपत्रकारहरु सम्मानित गरिएको सो अधिवेशन तथा साधारण सभामा रामेछाप शाखाका जिल्ला अध्यक्ष मिलन घिमिरे (बि.क) लाई गठित प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र विभिन्न व्यक्तित्वहरूको उपस्थितिका बिच मन्त्री यादवले सम्मान पत्र प्रदान गरेका हुन् । शाखा गठन भएको डेढ बर्सभरिमा जिल्ला सदरमुकाम मन्थली नगरपालिकासहित आठ वटै स्थानीय तहको फोटो पत्रकारिताको माध्यमबाट प्रचारप्रसार, यहाँका राजनीतिक दल, सरोकारवालाहरुसंग समन्वय र सहकार्य सहित अन्तरक्रिया, छलफल गरी पर्यटन प्रवर्द्धन गर्न जस्ता कार्य गरेर देशभरका शाखा भन्दा सक्रिय गतिविधि गरेको भन्दै केन्द्रले सम्मान गरेको समूहका जिल्ला शाखाका सचिव राजन महताराले बताए ।

२०५३ सालमा स्थापना भएको यस संस्था देशकै पहिलो र ठुलो फोटोपत्रकारहरुको छाता संगठन (एनएफपिजे) को केन्द्रीय समितिमा समेत नयाँ सर्व सहमतिमा गठन भएको छ । यस अगाडि नै समूहको नेतृत्वमा रहेका (रासस) मा समेत आबद्ध प्रदीपराज वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्व सहमतिमै चयन भएको हो । 

 

अध्यक्षमा पुनः प्रदीपराज वन्त दोहोरिँदा, वरिष्ठ उपाध्यक्षमा लेखबहादुर (सागर) श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती),  उपाध्यक्ष सुनिल शर्मा, उपाध्यक्ष नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

 

त्यस्तै केन्द्रीय सदस्यहरूमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे, रमिता छुँजु,हरिश सिंह नगाल, दीपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएको निर्वाचन समिति घोषणा गरेको हो ।