दोरम्बा शैलुङ्ः लगातार तेस्रो पटक कालिका माविले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि, कुन पालिकामा कहिले ?
३० कात्तिक, रामेछाप । यो वर्ष जिल्ला मै प्रथम रूपमा सुरु गरेको दोरम्बा शैलुङ् गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिका मावि रिष्ठेले लगातार तेस्रो पटक उचालेको छ । वडा नं ६ स्थित कालिका माविले पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै १५ स्वर्ण सहित तेस्रो पटक लगातार प्रतियोगिता जितेर शिल्ड आफै राख्न सफल भएको छ ।
गएको मंगलबार देखि बिहीबार सम्म कालिका माविको खेल मैदानमा पालिकाका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थापा मगर, प्रमुख प्रशासकीय अधिकृत समीर रेग्मीसहितको भव्य उपस्थितिमा सुरु भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक जितेर इतिहास रचेको हो ।
कूल ३६ स्वर्ण, ३६ रजत र ३६ काश्य पदकको लागि भएको प्रतिस्पर्धामा कण्ठेश्वर मावि वडा नं ३ टोकरपुरले ६ वटा स्वर्ण पदकसहित दोस्रो बनेको शिक्षा शाखाका प्रमुख नेत्र प्रसाद गौतमले रामेछाप टाइम्सलाई बताए । गएराति अबेर समापन गरिएको पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण बाहेकका पदक जित्ने माविको भने विवरण संकलन भइरहेको छ ।
शिक्षा शाखा प्रमुख गौतकमा अनुसार भीमेश्वर मावि वडा नं ५ थापागाउँले ५ स्वर्ण पदक जित्दै तेस्रो भएको छ । त्यस्तै सेती देवीमा मावि वडा नं ५ गुण्सालले ४ स्वर्ण, अन्तर्राष्ट्रिय मावि वडा ७ पुणिघ्याङले ३ स्वर्ण पदक जितेका छन् ।
त्यस्तै एकै वडाका शिवलेङ्गेश्वर मावि र खार्पानी मावि वडा नं ४ ले १–१ स्वर्ण पदक हात पारेका छन् ।
तीन दिन सम्म सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि पालिकाले १० वटै माविलाई प्रति विद्यालय ५०–५० हजारको दरले आर्थिक सहयोग गरेको शिक्षा शाखा प्रमुख गौतमले बताए ।
बिहीबार राति अबेर समापन गरिएको सो रनिङ शिल्डमा विजेता खेलाडीहरूलाई पालिका अध्यक्ष मोक्ताने उपाध्यक्ष थापा मगरसहितको उपस्थितिमा शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरे ।
१० माविका कूल ७१० जना छात्र, छात्राको सहभागिता रहेको सो प्रतियोगिताको एथलेटिक्स बाहेकका सबै खेल कालिका माविको मैदानमा खेलाइएको थियो । आठ वटा स्थानीय तह मध्ये यो वर्ष दोरम्बा शैलुङ् गाउँपालिकाले अन्य पालिका भन्दा पहिलो पटक पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सकेको छ ।
त्यस्तै सुनापति गाउँपालिकाले आउँदो मंसिरको १५,१६ र १७ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी तीव्र पारेको पालिकाले जनाएको छ । सो पालिकाले खेल मैदान तयार पार्ने र आन्तरिक व्यवस्थापनको कार्यलाई अगाडि बढाएको पालिकाको खेलकुद विकास समितिले जनाएको हो ।
त्यस्तै गत वर्ष वडा नं १ गुम्देलको खेल मैदानमा पालिका स्तरीय रनिङ शिल्ड सञ्चालन गरेको उमाकुण्ड गाउँपालिकाले पनि यो वर्ष वडा नं २ बाम्तिभण्डारमा रनिङ शिल्ड सञ्चालन गर्ने तयारी अगाडि बढाएको पालिकाले जनाएको छ ।
जिल्लाका ८ वटै स्थानीय तहले रनिङ शिल्ड सकेपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने छ ।