राष्ट्रिय कर दिवस : रामेछापमा वक्ताहरूले भने ‘हामीले तिरेको कर अप्ठ्यारोमा पर्दा अझै पनि राज्यले सही सदुपयोग गर्न सकेको छैन’
१ मंसिर, रामेछाप । राष्ट्रिय कर दिवस २०८१ रामेछापमा पञ्चेबाजासहितको र्याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । राज्यले नागरिकलाई स्वतःस्फूर्त रूपमा कर तिर्न आउने वातावरण बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड् दिए ।
शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा मन्थली कर कार्यालयदेखि सुरु भएको जनचेतना मूलक प्लेकार्ड सहित पञ्चेबाजा सम्मेलित प्रभात फेरी पछि आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले नागरिकहरूले तिरेको करको राज्यले सही सदुपयोग गर्नु पर्नेमा सरकारको ध्यानाकर्षण गरे।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले विपद्मा परेकै बेला जिल्लाकै एक स्थानीय तहका प्रमुखले आफूलाई चढ्नको लागि नागरिकले तिरै कै करबाट गाडी खरिद गरेको तर उनीहरूको समस्यामा एउटा त्रिपाल समेत दिन नसकेको उल्लेख गर्दै अझै पनि राज्यले नागरिकहरूले दुःख गरेर तिरेको करको सही सदुपयोग हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
राज्यका यस्तै स–साना कमजोरीको कारण नागरिकहरू अझै पनि दिल खोलेरै कर तिर्नु पर्छ भन्न नसकेको उनको भनाई थियो ।
त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले निजी क्षेत्रले ८० प्रतिशत करको क्षेत्र निजी क्षेत्रले ओगटेको उल्लेख गर्दै सजिलो तरिकाले कर तिर्ने वातावरण मिलाउनु पर्नेमा जोड् दिए । राज्यले करको ठुलो हिस्सेदार निजी क्षेत्रलाई ‘अर्को’ व्यवहार गर्न नहुने र सहज रूपमै कर तिर्ने वातावरण मिलाउन सके थप कर संकलन हुने उनको दाबी छ ।
प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले कर तिर्नु भनेको आफ्नो सम्पत्तिको वैद्य हुने उल्लेख गर्दै समयमै कर तिर्नुपर्नेमा जोड् दिए । आफूले कमाएको सम्पत्तिलाई सही हो भन्ने पुष्टि गर्न कर तिर्नु पर्ने बनाउनु हामी सबैको दायित्व रहेको उनको भनाई छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाले पछिल्लो समय नागरिकहरू आफै कर तिर्नु पर्छ भन्नेमा सचेत हुँदै गएको धारणा राख्दै तीनै तहमा विभिन्न शीर्षकमा तिर्नु पर्ने कर बारेमा भएको द्वविधा हटाउनु आवश्यक भएको धारणा राखे । तीन तहको सरकारमा विविध शीर्षकमा कर तिर्दा नागरिकहरू मर्कामा परेको उनको भनाई थियो ।
रामेछाप नगरपालिका प्रमुख समेत रहेका प्रभात फेरी कार्यक्रमका प्रमुख लवश्री न्यौपानेले भने जग्गाको हाल कायम रहेको कर केही बढाउनु पर्नेमा जोड् दिए । राज्यसँग कर मात्रै स्रोत रहेकाले राज्यको आयस्रोत बढाए मात्रै लगानी गर्न सकिने उनको तर्क थियो । विकसित मुलुकहरूमा पनि राज्यले ४० प्रतिशत सम्म कर उठाइरहेको प्रसङ्ग जोड्दै राज्यसँग स्रोत भए राम्रो ठाउँमा सही लगानी हुने दाबी गरे ।
कर दाता सेवा कार्यालयकी प्रमुख प्रतिमा घिमिरेले गत आर्थिक वर्षमा माथिल्लो निकायबाट मन्थली कर कार्यालयलाई दिएको कर संकलनको लक्ष्य शतप्रतिशत पूरा भएको सुनाउँदै यो वर्ष पनि लक्ष्य पुरा हुने गरी कार्य भइरहेको बताइन् । कर सम्बन्धी कुनै द्विविधामा नपर्न आग्रह गर्दै सबैसँग समन्वय र सहकार्यमा काम भइरहेको उनको जिकिर छ ।
प्रतिमा घिमिरे, कर अधिकृत ।