रामेछापमा जुनारको संस्थागत विकासको थालनी, गुञ्जबा. कार्कीको नेतृत्वमा गठन गरियो समिति
६ मंसिर, रामेछाप । ‘जुनारको जिल्ला’ भनेर पहिचान बनाउँदै गएको रामेछापमा जुनारको संस्थागत विकासको थालनीको प्रयास सुरु गरिएको छ । जुनारको विकास र विस्तारको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापको पहलमा समिति गठन गरिएको हो । रामेछाप नगरपालिका वडा नं ७ र वडा का वडा अध्यक्ष समिर कार्की र सन्तोष तामाङसहितको उपस्थितिमा भएको खुल्ला भेलाबाट जुनार जोनले गरिरहेका सबै कार्यहरुको मूल्यङ्कन, जुनारको उत्पादन, अनुगमनसहितको अधिकारी रहने गरी समिति गठन गरिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले रामेछाप टाइम्सलाई बताए ।
बुधवार रामेछापको रामेछाप नगरपालिकामा परियोजना रामेछापले आयोजना गरेको जुनार जोन समन्वय समिति गठन कार्यक्रमले कृषक गुञ्जबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरिएको प्रमुख गैरेले बताए । गठित समितिले मन्थली र रामेछाप नगरपालिका भित्र उत्पादन हुँदै आएको जुनारको वृद्धि विकासमा टेवा पुर्याउने योजना रहेको प्रमुख गैरेले सुनाए ।
परियोजनाले केही वर्ष अगाडि देखि ‘जुनार जोन’ क्षेत्र तोकेर कार्य गर्दै आएका जिल्लाका ८० जना भन्दा बढी कृषकहरूको उपस्थितिमा कार्कीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
जुनार विकासको लागि विगत देखि विभिन्न कार्य गर्दै आएको बिच समिति गठन गरी संस्थागत विकास सहयोग पुर्याउने उद्देश्यले पदमबहादुर लामा उप–संयोजक चयन भएका छन् ।
त्यस्तै सचिवमा कैलाश चौहान, सहसचिवमा चिना कुमार तामाङ चयन भएका छन् । परियोजनाको सहयोगमा जुनार उत्पादन वृद्धि गर्न सफल ढाल विक्रम कार्की, दीपक कुमार खत्री, तारादेवी गुर्माछाने मगर, सपना तामाङ, प्रेम कुमारी तामाङ लगायत सदस्यमा चयन भएको छन् ।