चार महिनामा सुनापति गाउँपालिकाले १२.८४ प्रतिशत कूल खर्च गर्यो, जनप्रतिनिधि भन्छन् ‘नागरिका सुझाव र मागलाई प्राथमिकता दिन्छौं’
८ मंसिर, रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले पहिलो चौमासिक सम्म अवधिमा १२.८४ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्ष को २०८१र०८२ को साउन देखि कार्तिक मसान्त सम्म पुँजीगत र चालु तर्फ गरी १२.८४ प्रतिशत खर्च भएको पालिकाले सार्वजनिक गरेको हो ।
शुक्रवार पालिकाको वडा नं ४ बेथानको वडा कार्यालय परिसरमा पालिकाको आयोजना तथा प्रहार मिडिया प्रा.लि. रामेछापको सहरीकरणमा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरणमा वित्तीय प्रगति तर्फ उक्त खर्च गरिएको हो ।
उनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म पालिका र वडा कार्यालयहरूबाट १३ लाख ४४ हजार ५ सय ७७ रुपैयाँ ३ पैसा राजश्व संकलन भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा (एक वर्ष) ४५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्य अनुसार चार महिनाको अवधिमा २९.८८ प्रतिशत राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । चालु आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि धमाधम काम सुरु भएकाले दोस्रो चौमासिक सम्म पुँजीगत खर्च ६० देखि ७० प्रतिशत हुने गरी काम गर्ने दाबी गरे ।
नागरिकको सल्लाह अनुसार काम हुन्छ: अध्यक्ष तामाङ
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले गाउँपालिकाबाट हुने काम नागरिकको सुझाव र सल्लाह अनुसार गर्दै जाने धारणा राखे । अध्यक्ष तामाङले गाउँपालिकाले नीति तथा कार्यक्रम बनाउँदा पनि नागरिककै सहभागितामा उनीहरूकै आवश्यकतालाई प्राथमिकता दिएर बनाएको बताउँदै कार्यान्वयन पनि नागरिकहरू कै सल्लाह र माग अनुसार गर्ने बताए । सार्वजनिक सुनुवाइको क्रममा सहभागीहरूले राखेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सुधार लगायतका प्रश्नको जवाफ दिँदै अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।
त्यस्तै पालिकाकी उपाध्यक्ष गीता विष्टले गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई शिविर मार्फत गाउँ–गाउँमा पुर्याइएको र त्यो शिविरले धेरैलाई सहयोग पुग्ने बताइन् । उनले गाउँपालिकासम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूले पाउने अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र र व्यवसाय दर्ता तथा नवीकरणका कामहरू वडा तहमै लगेर नागरिकलाई सेवा दिन सुरु गरिएकाले यस्तो सेवाले नागरिकहरूलाई धेरै सहयोग पुग्ने उनको तर्क छ ।
गाउँपालिकाले महिला लक्षित विभिन्न कार्यक्रम गरेको र त्यस्ता कार्यक्रमले सुनापतिका धेरै महिलालाई सीपयुक्त बनाएको र केही महिलाहरूले अहिले आफूसँग भएको सीपले उपयोग गरेर आर्थिक आम्दानी समेत लिन थालेको बताइन् । गाएका वर्षहरूमा गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो खर्च गरेको र त्यसको उपलब्धि स्वरूप जिल्लाका अन्य पालिका भन्दा सुनापति गाउँपालिकाको शिक्षाको प्रगति विवरण पहिलो नम्बरमा परेको धारणा राखिन् ।
सार्वजनिक सुनुवाइ एवं चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १ का वडाध्यक्ष ध्रुव प्रसाद चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा र वडा नं ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धरले पनि स्थानीयहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आफ्ना वडाका नागरिकहरूले दिएका सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।