दुर्घटना अपडेट : परिचय नखुलेका बालकसहित ३ घाइतेलाई काठमाडौँ लगियो, मृतक एक महिलाको अझै भएन सनाखत
१४ मंसिर, रामेछाप । रामेछापको फुर्पुमा आज भएको फोर्स गाडी दुर्घटनाका घाइते तीनै जनालाई काठमाडौँ पठाइएको छ । जिल्ला सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारको लागि उनीहरू सबैलाई काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
कामठमाडौंबाट रामेछापको बेतालीको लागि आएको ना १ ज ७१२३ नं को गाडी अनियन्त्रित भई पल्टिँदा गोकुलगंगा गाउँपालिकाको वडा नं ४ बेतालीका निर्वाचित वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको पोष्ट मार्टमको लागि मन्थली अस्पताल ल्याइएको छ । मृतक एक महिलाको सनाखत हुन बाँकी छ ।
घाइते परिचय खुल्न नसकेका एक बालकसहित तीन जनालाई काठमाडौँ रेफर गरिएको इन्स्पेक्टर विक्रम खड्का मगरले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार परिचय नखुलेका बालकलाई केएमसी अस्पताल लगिएको हो ।
परिचयन नखुलेका बालक
गम्भीर घाइते बेतालीकै २७ वर्षीय सरस्वती कार्की र कास्की जिल्लाको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मालाई ट्रमा सेन्टर पठाइएको हो । उनीहरू दुवैको अवस्था मध्यम छ ।
दिउँसो १ ः ५० बजे भएको दुर्घटनामा वडा अध्यक्ष बस्नेतसहित मन्थली नगरपालिका वडा नं १० चनखुका ३५ वर्षीय हिरा बहादुर कार्की (चालक), गोकुलगंगा कै ५ नम्बर नामाडीका ३० वर्षीय कविता कार्की (खड्का) र उनकै ७ वर्षीय छोरी स्वस्तिका खड्काको मृत्यु भएको छ ।