दुर्घटना अपडेट : पहिचान नखुलेका दुवै आमाछोरा भएको पुष्टि, रामेछाप टाइम्सको पहलमा यसरी भयो पहिचान, लगाइयो परिवारको जिम्मा
१४ मंसिर, रामेछाप । रामेछापको फर्पुमा आज भएको गाडी दुर्घटनामा परेर ६ घण्टा भन्दा बढी समय सम्म पहिचान खुल्न नसकेकी एक मृतक महिला र सख्त घाइते बालक दुवैको पहिचान खुलेको छ । उनीहरू आमा छोरा भएको पुष्टि भएको छ ।
रामेछाप टाइम्सको सहयोगमा ती मृतक महिला बेताली घर भएकी २७ वर्षीय सविना बि क रहेको सनाखत भएको हो । काठमाडौँबाट छोरा रविन बि कसहित बेताली घर आउँदै गरेका आमा छोरा दुर्घटनामा परि पहिचान बिहीन बनेका थिए ।
काठमाडौँबाट घर आउँदै छौँ भनेका सविनाका आम छोरा साँझ सम्म परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्यले दुर्घटनामा परेको आशंका गरेका थिए । बुझ्दै जाँदा सनाखत नभएको शव सविनाको भएको पुष्टि भएको हो । मृतक सविनाको शव अहिले मन्थली अस्पतालमा रहेको छ ।
दोलखाको चरिकोटबाट प्रवेश बेयलकोटीले रामेछाप टाइम्सलाई एस एम एस मार्फत रामेछाप टाइम्समा प्रकाशित दुर्घटनाको समाचारलाई आधार मानि आमा छोराको तस्बिर पठाए । बुझ्दै जाँदा सविनाको दुर्घटनामा परी मृत्यु भएको पुष्टि भएको हो ।
त्यस्तै गम्भीर घाइते भई हाल (केएमसी) अस्पताल काठमाडौँमा पुर्याइएका घाइते बालक रबिन बि क भएको र उनी सविनाका छोरा भएको दाइ कृष्ण विकले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) प्रदीप कुमार सिंहले रामेछाप टाइम्सलाई बताए ।
रामेछाप टाइम्सलाई बयलकोटीले ती बालकको तस्बिर पठाएर सोधे यी बालक त हैनन् । हामीले बुझ्दै जाँदा घाइते बालक बयलकोटीले पठाएको तस्बिरमा भएकै बालक थिए ।
दिनभर (परिचय नखुलेका) ती बालकलाई अहिले दाइ कृष्ण बि क जिम्मा लिएको (डिएसपी) सिंहले बताए । काठमाडौँबाट गोकुलगंगा गाउँपालिका बेतालीको लागि आएको ना १ ज ७१२३ नं को गाडी अनियन्त्रित भई पल्टिँदा गोकुलगंगा गाउँपालिकाको वडा नं ४ बेतालीका निर्वाचित वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको पोस्ट मार्टमको लागि मन्थली अस्पताल ल्याइएको छ ।
दुर्घटनामा घाइते बालक रिबनसहित ३ जनालाई काठमाडौँ लगिएको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार जारी छ।