सुनापतिमा आजदेखि सुरु भयो छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
१५ मंसिर, रामेछाप । सुनापति गाउँपालिकामा शनिबार देखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ । पालिका भित्रका ९ वटा माविका विद्यार्थीहरूको सहभागितामा प्रतियोगिता सुरु भएको पालिकाको खेलकुद विकास समितिले जनाएको छ ।
चालु शैक्षिक सत्रमा कक्षा १२ सम्मका नियमित अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्र/त्राहरुले प्रतिस्पर्धा गर्न पाउने गरी भलिबल, कबड्डी र एथलेटिक्स अन्तर्गतका खेलमा प्रतिस्पर्धा हुन लागेको हो । सुनापति खेलकुद विकास समितिको आयोजना, पालिकाको प्रायोजक र शिक्षा समिति सुनापतिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको पालिका अध्यक्ष ठूलोकान्छा तामाङले उपाध्यक्ष गीता विष्ट (चौलागाई) सहित वडा अध्यक्षहरूको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा छात्र–छात्रा कै भलिबल, कबड्डी, एथलेटिक्स अन्तर्गत फ्याँक्ने र उफ्रने (फिल्ड) तर्फ सटफुट,लङजम्प, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाई जम्प, १०० मिटर, २०० मिटर, ४०० मिटर खेल समावेश गरिएको छ ।
आउँदो सोमबार सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक सुनापति खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले जानकारी दिए ।
त्यस्तै दोस्रो हुने टिमले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । तेस्रो हुनेलाई नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिने छ ।