नेपाल पत्रकार महासंघ रामेछापको २० औं साधारणसभाः २ वटा ‘पत्रकारीता पुरस्कार’ कार्यविधि पारित, निर्वाचनमा होमियो
महासंघको वेबसाइट पनि सार्वजनिक२५ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको २० औँ वार्षिक साधारण सभा सोमबार विभिन्न पुरस्कार राशिहरू पारित गर्दै सम्पन्न भएको छ । साधारण सभाले सचिव तुलसी देवी श्रेष्ठ र कोषाध्यक्ष युवराज श्रेष्ठको सांगाठानिक प्रतिवेदन र कोषको वार्षिक प्रतिवेदन समेत परिमार्जनसहित बहुमतले पारित गरेको छ ।
सोमबार अपराह्न देखि मन्थलीमा महासंघका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा पूर्व अध्यक्षहरू हिमाल ढुङ्गेल, टिका भट्ट, प्रेस युनियन नेपाल रामेछापकी अध्यक्ष एवं महासंघको बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, प्रेस सेन्टरको जिल्ला अध्यक्ष निरोज श्रेष्ठ र महासंघको उपाध्यक्ष समेत रहेका समाजवादी प्रेसका अध्यक्ष कैलाश खत्रीसहित महासंघका सदस्यहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।
महासंघको केन्द्रले शुद्धीकरण अभियान सञ्चालन गरेपछि विभिन्न कारणसहित असन्तुष्ट बनेको प्रेस चौतारी रामेछापले जिल्ला शाखाको भवनमा करिब डेढ वर्ष ताला लगाएको थियो । यही मंसिर २८ गते एकै पटक तीनै तहको (देश व्यापी) अधिवेशन गर्ने निर्वाचन तालिका सार्वजनिक भएपछि वार्ता र संवाद मार्फत सहमतिसहित चौतारीले ताला खोलेपछि संस्थागत आर्थिक र सांगाठानिक अवस्था बारेमा प्रस्ट पार्ने उद्देश्यले जिल्ला शाखाले ‘हतार हतारमा’ साधारण सभा आयोजना गरेको कोषाध्यक्ष युवराज श्रेष्ठले बताए ।
२०७७ चैत्र ३० गते प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन बिच भएको गठबन्धनको टिम निर्वाचित भएदेखि विभिन्न बाधा अड्चनहरू आएको सुनाउँदै महासंघका अध्यक्ष बद्री नयाँघरेले कोरोना महामारी, महासंघको भवनमा लामो समयको ताला बन्दिले सोचे अनुसारको काम गर्न नसकेको गुनासो गरे । उनले महासंघको जिल्ला शाखा रामेछापको इतिहासमै आफ्नो कार्यकाल तालाबन्दी, कोरोना महामारीको कारण सुस्त बन्न पुगे पनि केही कार्यक्रमहरू दीर्घकालीन महत्वका गर्न सफल भएको बताए ।
आफूले निकै सहज, सहयोगी र जुझारु टिम पाएको उल्लेख गर्दै अध्यक्ष नयाँघरेले आफ्नो कार्यकालमा संस्थालाई डिजिटलसँग जोड्ने गरी वेबसाइट निर्माण, विभिन्न पुरस्कार राशिहरू संस्थाका सदस्यहरूको हितमा ल्याउन सफल भएको सुनाए ।
प्रेस चौतारीका अध्यक्ष नवराज श्रेष्ठ र पूर्व अध्यक्ष बिफा घिसिङले पनि महासंघले विभिन्न चुनौतिका बिच हाल सम्म कुनै पुरस्कार राशिहरू तय हुन नसकेको अवस्थामा ‘पुरस्कार राशिहरू’ कार्यान्वयनको अवस्था सम्म ल्याउन प्रशंसनीय कार्य भएको धारणा राखे । उनीहरूले सचिवको सांगाठानिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदनमाथि बोल्दै परिमार्जनसहित पारित गर्नु पर्ने प्रस्ट धारणा राखे ।
प्रतिवेदनमाथि बोल्ने केही सदस्यहरूले महासंघले मिडियाहरूको बचाउ र टिकाउमा प्रशंसनीय कार्य गर्न नसकेको गुनासो गरेका थिए ।
साधारणसभा सकिए लगत्तै महासंघमा आबद्ध पत्रकारहरुलाई निर्वाचनको गतिविधिमा व्यवस्था हुन थालेको प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । केन्द्रमा युनियन र चौतारी बिच गठबन्धन गर्ने सहमती अनुसार जिल्लामा पनि के गरेर जाने भन्ने विषयमा छलफल हुने चरणमा रहेको उनको भनाई छ ।
मंगलबारदेखि जिल्लाका प्रेससंगठनहरु बिच निर्वाचनमा कसरी जाने भनेर आन्तरिक तथा संगठनहरु बिच विभिन्न चरणका छलफल समेत अगाडि बढेको बुझिएको छ । यो पटकको निर्वाचनमा कोही बाहिर नहुने गरी मिलेर जानेमा सबै संगठनहरुले जोड् दिएको संगठनहरुको दाबी छ । २६ गते बुधबार जिल्लाको उम्मेद्वारी दर्ता गर्न यस अगाडि नै निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
दुई पुरस्कार राशि बहुमतले पारित
२० औँ साधारण सभाले महासंघको कार्यसमितिबाट पारित भई साधारण सभामा पेस गरेको ‘शान्ता कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पुरस्कार कार्यविधि–२०८१’ र ‘दिलबहादुर कार्की पर्यटन पत्रकारिता पुरस्कार कार्यविधि–२०८१’ बहुमतले पारित गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार रमेश ढुङ्गेलले आफ्नी आमाको नामबाट स्थापना गरेको ५० हजार रकमको ‘ब्याजबाट प्राप्त हुने’ रकम बराबरको ‘शान्ता कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पुरस्कार’ जिल्ला भित्रका महिला अधिकारको क्षेत्रमा तथा जिल्लामा भएका क्यान्सरको पीडित महिलाहरूको अवस्थाका बारेमा उजागर गर्ने एक जनालाई महासंघको वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको महासङ्घकी सचिव तुलसी देवी श्रेष्ठले बताइन् । सो पुरस्कार महिला वा पुरुष जोकोहीलाई प्रदान गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमका वडा अध्यक्ष समेत रहेका समाजसेवी पहिचान बोकेका नेता नारायणबहादुर कार्कीले आफ्नो स्वर्गीय पिताको नाममा स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँको प्राप्त हुने ब्याज बराबरको पुरस्कार राशि पनि साधारण सभाले बहुमतले पारित गरेको छ ।
वडा अध्यक्ष कार्कीले आफ्नो बुबाको स्मृतिमा ‘दिलबहादुर कार्की खोज पत्रकारिता’ स्थापना गरेका हुन् । उनले महासङ्घको जिल्ला शाखामा आबद्ध रही जिल्ला भित्र भएका पर्यटन क्षेत्रको विकास निर्माण तथा मुख्य विषयहरूलाई खोज पत्रकारिता मार्फत विभिन्न स्थानको पहिचान गरी पर्यटन विकास निर्माणमा सम्बन्धित निकायको ध्यान केन्द्रित गर्ने उद्देश्यले समाचार प्रकाशन प्रसारण गर्ने एक जनालाई प्रदान गर्ने गरी उक्त पुरस्कार स्थापना गरिएको सचिव श्रेष्ठले जानकारी गराइन् ।
राति अबेर सम्म सञ्चालन भएको साधारण सभाले ‘पत्रकार विपद् कोष’ माथि थप कार्य गर्नु पर्ने भन्दै पछि सारेको छ ।