उमाकुण्ड गाउँपालिकाको घुम्ति शिविर–१ नम्बर गुम्देलबाट सुरु
१ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाले सोमवारबाट वडा नं १ गुम्देलदेखि एकीकृत घुम्ति शिविर सुरु गरेको छ । ‘गाउँपालिकाको कार्यालयबाट’ प्रदान हुने सेवाहरूलाई नागरिकहरूलाई वडा–वडामा गएर प्रदान गर्ने उद्देश्यले कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि ७ वटै वडामा पुगेर नागरिकता, राष्ट्रिय परिचय पत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण जस्ता सेवा सुरु गरेको हो ।
वडा नं १ गुम्देलमा वडा अध्यक्ष ङातिण्डू शेर्पासहित गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी लगायत जिल्ला प्रशासन र पालिकाका कर्मचारीहरूको सक्रियतामा वडा नं १ मा ३० वटा नागरिकता, ५७ वटा राष्ट्रिय परिचय पत्र, १–व्यवस्था दर्ता, १–व्यवसाय इजाजत पत्र, १–व्यवसायको पुजी वृद्धि,१–जना सम्झौता र १– (ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए ।
७ वटा वडा रहेको उमाकुण्डको मंगलवार भोलि बाम्तिभण्डार वडा कार्यालयबाट सेवा प्रदान गरिने तयारी रहेको पालिकाले जनाएको छ । विगतका वर्षहरुमा पनि उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकरहरुलाई सेवा प्रदान गरेको थियो ।