मन्थलीको केब्स स्कूलमा चार दिने ‘केब्स स्पोर्ट्स फेस्टिबल’
४ पुस, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा संचालित निजी क्षेत्रको कर्कला देवी बोर्डिङ स्कूल (केब्स) मा बुधवार (हिजो) देखि ‘केब्स स्पोर्ट्स फेस्टिबल’ सुरु भएको छ । चार दिने फेस्टिबल अवधिभर स्कूलका छात्रा छात्रलाई विभिन्न विधामा आन्तरिक प्रतिस्पर्धा गराइने छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ दाहालसहितको उपस्थितिमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागितामा उनीहरूको तह तथा उमेरगत प्रतिस्पर्धा गर्ने गरी तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलहरू सुरु भएको विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल/प्रअ) अनमोल तिमल्सिनाले रामेछाप टाइम्सलाई जानकारी दिए ।
मन्थली आकाशे ट्राफिक चोक नजिकै संचालनमा रहेको यो माविले विभिन्न समयमा विद्यार्थीहरूलाई आन्तरिक रूपमा खेलकुदसँगै विद्यार्थीहरूको क्षमता पहिचान गर्न विभिन्न प्रतियोगिता एवं उनीहरू बिच प्रतिस्पर्धा गराउँदै आएको छ ।
स्कूलले नियमित अतिरिक्त तथा सह पाठ्यक्रम क्रियाकलापलाई समेत समावेश गर्दै खेलकुद फेस्टिबल अगाडि नगर स्तरीय खेलकुद र जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान समेत प्राप्त गर्दै आएको छ ।
सबै तस्बिरहरु केब्स स्कूल ।