मन्थली नगरपालिकाले दुई दिने कृषि मेला गर्दै, रामेछाप उद्योग वाणिज्य संघ भने असन्तुष्ट ?

| पुस ७, २०८१ आइतबार

A A A
A A A

७ पुस, रामेछाप । मन्थली नगरपालिकाले नगरभित्र उत्पादन भएका कृषि उपजहरूको पर्दशनीको लागि दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने भएको छ। दुई दिने कृषि मेलाले नगरमा उत्पादन भएका कृषि तथा फलफूलले बजार पाउने दाबी मन्थली नगरको छ । 

 

आउँदो पुस १६ र १७ गते जिल्ला समन्वय समितिको सभा हल पछाडि ५० वटा स्टल राखेर नगरपालिकाले नगरको १४ वटा वडामा उत्पादन भएका कृषि उपजहरूलाई खरिद् बिक्रीसहितको पर्दशनी गर्न लागेको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । 

 

‘नगरका वडाहरूमा उत्पादन भएको कृषि उपजलाई बजारीकरण गरी प्रवर्द्धन गर्ने उद्देश्यले ५० वटा स्टल राखेर कृषि मेला गर्ने तयारी भइरहेको छ’ महाशाखा प्रमुख समेत रहेका सूचना अधिकारी बुढाथोकीले भने ‘यो मेलाले नगरका कृषकहरूलाई प्रोत्साहित गर्छ ।’

 

आइतबार सम्म ५० वटा स्टल मध्ये केही वडाबाट मात्रै कृषकहरूले प्रदर्शनीको लागि ‘सम्पर्क’ गरेको उनको भनाई छ । एक वडाबाट कम्तीमा ३–३ जना कृषकहरूको सहभागिता हुने नगरले अपेक्षा गरेको बुझिएको छ । 

 

स्टलमा नगरमा उत्पादन भएका तरकारी, फलफूल, गेडागुडी, नगदे बाली जस्ता सामाग्री राखिने सूचना अधिकारी बुढाथोकीले बताए । 

 

यता रामेछाप उद्योग वाणिज्य संघले भने नगरपालिकाले गर्न लागेको कृषि तथा लघु उद्यम पर्दशनी मेला आयोजना गरेको प्रति असन्तुष्ट जनाएको छ । संघले आगामी माघ १५ देखि २१ गते सम्म जिल्ला स्तरीय ‘कृषि मेला’ गर्ने तयारी गरिरहेको बेला नगरले अगाडि नै सोही प्रकृतिको कार्यक्रम गर्न लागेर निजी क्षेत्रलाई दपेट्ने काम गरेको भन्दै संघले आपत्ति जनाएको बुझिएको छ। 

 

यसै विषयमा नगरका प्रमुख लव श्रेष्ठको चम्बरमै संघको टिम गएर आक्रोश पोखेको बुझिएको हो । नगरले भने कृषि मेला पर्दशनीलाई अगाडि बढाएको छ ।