उमाकुण्ड गाउँपालिकाको घुम्ती शिविर : ३१९ वटा नागरिकता र ५१५ वटा परिचयपत्र वितरण, ७० हजार बढी राजश्व संकलन
३४ वटा योजना सम्झौता०७ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाले यही पुस १ गते गुम्देल देखि संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’ भन्ने मूल नारासहित पालिकाका जनप्रतिनिधि, कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय रामेछाप समेतको सहयोगमा सुरु गरिएको घुम्ती शिविरमा १८४ जना महिला र १३५ जना पुरुष गरी ३१९ जनाले नेपाली नागरिकता लिएको पालिकाकी उपप्रमुख सावित्री सुनुवारले जानकारी दिइन् ।
उनका अनुसार वडा नं १ गुम्देलमा–३०, वडा नं २ बाम्तिभण्डारमा – ३६, ३ नम्बर कुँबुँकाँस्थलीमा – ६१, प्रीति ४ मा – ६०, प्रीति–५ मा– ६२, वडा नं ६ गुप्तेश्वरमा – २४ र वडा नं ७ भुजीमा –४६ वटा नागरिकता वितरण गरिएको हो ।
त्यस्तै, वडा नं १ गुम्देलमा ५७, बाम्तिभण्डारमा १०४, कुँबुँकाँस्थलीमा ८४, प्रीति ४ मा ८२, प्रीति ५ मा ७८, ६ मा ३९ र भुजी ७ मा ७१ गरी ५ सय १५ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।
पालिकाको सातै वटा वडा कार्यालयबाट प्रदान गरिएको शिविरमा ‘क’,‘ख’, ‘ग’ र ‘घ’ वर्गको गरी जम्मा ४ जनालाई छुट्टाछुट्टै वर्गको अपाङ्गता परिचय पत्र वितरण गरिएको उपाध्यक्ष सुनुवारले रामेछाप टाइम्सलाई बताइन् ।
सबै वडामा गरिएको व्यवसाय दर्ता, व्यवसाय इजाजत, व्यवसाय पुँजी हेरफेर, व्यवसाय नामसारी, व्यवसाय खारेजी, व्यवसाय नवीकरण र योजना सम्झौता गरी जम्मा ७० हजार ३ सय ७५ रुपैयाँ राजश्व संकलन गरिएको उपाध्यक्ष सुनुवारले बताइन् ।
वडा नं १ मा १६ हजार ४ सय, वडा नं २ मा २८ हजार ६२५, वडा नं ३ मा ६ हजार ७ सय, ४ मा ३ हजार १५०, ५ मा ४ हजार ३ सय, ६ मा ६ हजार २५० र ४ हजार ९५० रुपैयाँ राजश्व संकलन गरिएको हो ।
भौगोलिक रूपमा विकटता रहेको यो पालिकामा विगतका वर्षदेखि नै पालिका घुम्ती शिविर मार्फत योजना सम्झौता गर्न सहज होस् र नागरिकहरूले पालिका धाउन नपरोस् भनी वडा–वडा नै पुगेर घुम्ती शिविर मार्फत सेवा प्रदान गर्दै आएको छ । यसले कार्यक्रम एवं योजना सम्झौता गर्न पालिका धाउनु पर्ने स्थानीयको बाध्यता हटेको छ ।
यो वर्ष सबै भन्दा धेरै वडा नं १ मा १० वटा, २ मा ६ वटा, ३ मा ५ वटा, ४ मा १, ५ मा ३, ६ मा ४ र ७ मा ५ वटा गरी जम्मा ३४ वटा योजना सम्झौता शिविर मै गरिएको छ ।